कैलालीका स्थानीय तह भारतबाट फर्किनेलाई क्वारेन्टिनमा राख्न असफल
धनगढीः भारतबाट फर्किएका नागरिकबाट कोरोना भाइरसको जोखिम बढी भएपनि कैलालीका स्थानीय तह क्वारेन्टिन व्यवस्थापनमा आनाकानी गर्न गरिरहेका छन्। सामुदायिक विद्यालयमा क्वारेन्टिन व्यवस्थापन गरेका स्थानीय तहले अहिले बन्द गरिसकेका छन् भने निषेधाज्ञाको अवधीमा क्वारेन्टिन थप्ने बताएका थिए।
तर कोरोना भाइरसको संक्रमण घटेपछि विद्यालय सञ्चालन गर्नुपर्ने भन्दै क्वारेन्टिन व्यवस्थापन गर्न स्थानीय तहले अटेरी गर्न थालेका हुनु्। अहिले पनि भारतबाट फर्किने क्रम पनि जारी रहेको र जिल्लामा संक्रमण पनि बढ्दै गएको अवस्थामा क्वारेन्टिन व्यवस्थापन नहुँदा समुदाय संक्रमणले भयावह रुप लिनसक्ने आशंका गरिएको छ।
स्थानीय तह भने आफ्नै मातहतमा रहेका विद्यालयमा क्वारेन्टिन सञ्चालन गर्न पनि खुट्टा कमाईरहेका छन्। भारतमा अहिले दैनिक ५० देखि ६० हजार कोरोना संक्रमित बढिरहेका छन्। सबैभन्दा बढी संक्रमण फैलिएको क्षेत्रबाट पनि त्रिनगर नाका हुँदै कैलाली भित्रिने क्रम जारी छ। तर उनीहरुलाई अहिले पनि सिधै घर पठाउँन थालिएको छ।
जिल्लाका स्थानीय तहहरुले क्वोरेन्टिन व्यवस्थान नगरेकाले उनीहरु सिधै घर गईरहेका हुन्। गौरीगंगा नगरपालिकाका प्रवक्ता नरेन्द्रबहादुर शाहले नगरपालिकामा आइसोलेसन माात्र रहेको बताए। ‘५० बेडको आइसोलेसन छ। भारतबाट फर्किएकाहरु अहिले होम क्वारेन्टिनमा बस्दै आएका छन्। नयाँ क्वारेन्टिन व्यवस्थापनका बिषयमा कुनै छलफल भएको छैन्।’ उनले भने।
कोरोनाको संक्रमण फैलिने दर कम भए सामुदायिक विद्यालयमा अध्ययन अध्यापन सुरु गर्ने भन्दै नेपाल सरकारले क्वारेन्टिन खाली गर्न निर्देशन दिएको दावी स्थानीय तहको छ। तर नेपाल सरकारले अन्य क्षेत्रमा क्वारेन्टिन व्यवस्थापन गर्न पनि निर्देशन दिएको थियो।
अहिले फेरी संक्रमण दर बढेकाले विद्यालय तत्काल सञ्चालन हुने देखिएको छैन्। जिल्लाका स्थानीय तहहरु आफ्नै मातहतमा रहेका विद्याालयहरुमा क्वारेन्टिन व्यवस्थापन गर्न खुट्टा कमाईरहेका छन्। जिल्लाको गोदावरी नगरपालिककाका प्रवक्ता शर्मानन्द भट्टले क्वारेन्टिन व्यवस्थापनका विषयमा स्वास्थ्य शाखामा छलफल जारी रहेको बताए।
उनले एक÷दुई स्थानमा क्वारेन्टिन व्यवस्थापनको लागि योजनामा नगरपालिका रहेको बताए। भारतबाट फर्किएकाहरुलाई क्वारेन्टिनमा राख्दै परीक्षण गर्न जिल्लाका स्थानीय तहले वेवास्ता गरेका हुन्। स्थानीय तहको लापरवाहीले भारतबाट आएका नागरिक सिधै घर पुगेका छन् भने उनीहरुबाटै समुदाय स्तरमा कोरोनाको संक्रमण फैलिन थालेको छ।
कोरोना संक्रमितको संख्या बृद्धि हुँदै गएपछि धननगढी उप–महानगरपालिकाले भने धनगढी रंगशालामा पुनःक्वारेन्टिन व्यवस्थाापन गरेको छ। वडा नम्बर ८ का अध्यक्ष नारायण बरालले धनगढी रंगशालामा क्वारेटिन, बेलीमा आइसोलेसन र देव तालिम केन्द्रमा महिला मैत्री क्वारेन्टिन व्यवस्थापन गरिएको बताए। कैलालीमा अहिले ७९ जनालाई मात्रा अनिवार्य क्वारेन्टिनमा राखिएको छ।