सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा सरकारी लापरवाहीले कोरोना समुदाय स्तरमा फैलिदै

२०७७ भदौ १२, ०२:०४ जनक विष्ट

धनगढीः आयातित संक्रमण, स्थानीय संक्रमण, सामुदायिक संक्रमण र भयावह गरी कोरोनाको संक्रमणलाई चार चरणमा विभाजन गरिएको छ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस नेपालमा समेत अन्य देशबाट आयातित संक्रमण भएपनि अहिले सुदूरपश्चिममा कैलालीमा समुदाय स्तरमा देखा पर्न थालेको छ। संक्रमणलाई स्थानीय र समुदाय स्तरमा फैलिनबाट रोक्दै महामारीको चरणमा प्रवेश गर्न नदिन सीमानाका बन्द गर्ने, भारत तथा तेस्रो मुलुकबाट फर्किनेलाई क्वारेन्टिनमा व्यवस्थापन गर्ने काम भएपनि तीन तहका सरकारबीच समन्वयको अभाव देखिदा स्थिती सोचे भन्दा फरक देखिन थालेको छ। संघिय सरकारले सीमानाकाबाट फर्किनेको उद्दार गर्ने, स्थानीय तहले उनीहरुलाई अनिवार्य आईसोलेसनमा बस्ने व्यवस्था मिलाउने र प्रदेशलाई परीक्षण गरी संक्रमणको अवस्था पत्ता लगाउने जिम्मेवारी दिईएको प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्की बताउँछन्।

तर तीनवटै सरकारका निकायले आपसी समन्वय गरी प्राप्त जिम्मेवारीलाई कुसलता पूर्वक निर्वाह गर्न नसक्दा सुदूरपश्चिममा कोरोना संक्रमण समुदाय स्तरमा फैलिन थालेको छ। भारतसँग जोडिएका सीमानाका व्यवस्थित बनाउने काम स्थानीय प्रशासनको भएपनि लकडाउन खुलेपछि खुकुलो पार्दा भारतबाट आएकाहरु गाउँ गाउँ सम्म पुगिसकेका छन्। उनीहरुको पहिचान गरी छुट्टै बस्ने व्यवस्था मिलाउनुपर्नेमा स्थानीय पालिकाहरुले लकडाउनमा सञ्चालन गरेका क्वारेन्टिन नै बन्द गरिदिएका छन्। प्रदेश सरकार मातहतका स्वास्थ्य कार्यालयले उनीहरुको नमूना परीक्षण गरी संक्रमितलाई छुट्याउनुपर्नेमा वेवास्ता गरेको आरोप लागेको छ। अझ स्थानीय तहहरुले त विद्यालय सञ्चालन गर्नुपर्ने कारण देखाएर क्वारेन्टिन बन्द गरिदिएका छन्।

तर कैलालीको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेमराज विष्टले भने संघिय सरकारको विद्यालय सञ्चालन गर्ने निर्णयका कारण यसअघि व्यवस्थापन गरिएका क्वारेन्टिन बन्द गरिएको बताए। उनले भारतबाट फर्किनेहरुको कुनै लेखाजाखा र नियन्त्रणमा स्थानीय प्रशासनले ध्यान नदिएको बताउँदै आफूहरु पनि त्यसमा चुकेको स्वीकार गर्दै अब थप कदम चालिने दावी गरे। अहिले समुदाय स्तरमा फैलिरहेको कोरोना भाईरसको स्थिती पत्ता लगाउन समेत स्थानीय तहहरुले चासो दिएका छैनन्। कोरोना संक्रमितको सम्पर्कमा आएका व्यक्तिलाई खोज्ने जिम्मेवारी पनि स्थानीय तहको हो। कोरोना आशंकामा आफै अस्पताल पुग्ने र संक्रमितको सम्पर्कमा आएकाहरुको परीक्षण भईरहेपनि समुदाय स्तरमा नमूना संकलनको काम नगरिएको हो। जसका कारण पनि स्थिती यकिन नहुँदा भित्रभित्रै कोरोना फैलिरहेको चेतावनी विज्ञहरुको छ।

तर नीतिगत निर्णय र मापदण्ड बनाउने संघिय सरकारले पूर्ण अध्ययन बिना नीति बनाउँदा समस्या भएको दावी गरिएको छ। सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले संघिय सरकारकै निकायले नीतिगत निर्णय गर्दा अन्यौलता सिर्जना गरिदिदा समस्या भएको सुनाए। उलने शिक्षा मन्त्रालयले विद्यालय सञ्चालन गर्ने र गृह मन्त्रालयले क्वारेन्टिन व्यवस्थापन गर्न भन्दै निर्देशन दिदा समस्या भएको बताए। यस्तै संक्रमितको औषधी उपचार तथा अस्पतालहरुमा आवश्यक पूर्वाधारको व्यवस्थापन गर्ने जिम्मेवारी समेत प्रदेश सरकारले कुशलता पूर्वता निर्वाह नगरिएको आरोप लागेको छ।

प्रदेशमा कोरोना संक्रमण फैलिएको पाँच महिना बितिसक्दा समेत कोरोनाका गम्भीर विरामीका लागि आवश्यक पर्ने आईसियु र भेन्टिलेटरको व्यवस्थापन गर्न सकेको छैन्।

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस