सुदूर नेपाललाई विश्वसँग जोड्दै

त्रिनगर नाकामा भद्रगोल, व्यवस्थापनमा जुट्यो कञ्चनपुर

२०७७ भदौ ८, ०५:३७ खबर संवाददाता

धनगढी: भारतबाट फर्किने क्रम जारी रहेको अवस्थामा त्रिनगर नाकाको व्यवस्थापन फितलो बन्दै गएपछि कोरोना भाईरसको जोखिम बढ्दै गएको छ। त्रिनगर नाका भएर दैनिक रुपमा सयौँ नागरिक भित्रिरहेका छन् तर व्यवस्थापन फितलो हुँदा जोखिम बढेको हो। 

भारतबाट आउनेलाई सम्बन्धित पालिकासम्म पुगाउने नाममा तानातान र बार्गेनिङ हुन थालेपछि त्रिनगर नाकामा झनै जोखिम रहेको छ। न सामाजिक दूरीको ख्याल गरिएको छ न त जनस्वास्थ्यका मापदण्ड पूरा गरिएको छ। यता नाकाको व्यवस्थापन उचित नभएको भन्दै व्यवस्थापनमा कञ्चनपुर प्रशासन जुटेको छ। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले त्रिनगर नाकालाई व्यवस्थित बनाउँन सुरक्षा निकायलाई निर्देशन दिएको बताए।

‘भारतको गौरीफन्टा नाकाबाट नेपाली भूमि टेकेपछि कञ्चनपुरको सिमाना सुरु हुन्छ,’ प्रमुख जिल्ला अधिकारी खतिवडाले दिनेश खवरलाई भने, ‘सीमामा व्यवस्थापन उचित भएन भन्ने धेरै गुनासो आयो। हामीलाई पनि त्यस्तै लाग्यो। अहिले थप व्यवस्थापन गर्न सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई निर्देशन दिएको छु।’

प्रमुख जिल्ला अधिकारीको निर्देशनपछि त्रिनगर नाकामा अहिले कञ्चनपुरमा कार्यरत सुरक्षाकर्मी पनि खटिएको छ। यता जिल्ला प्रशाशन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले भने डोकेबजार क्षेत्र कञ्चनपुरमा परे पनि व्यवस्थापन कैलालीले नै गरिरहेको बताए। उनले कञ्चनपुर प्रशासनसंग पनि समन्वय भईरहेको बताए।

कमेन्ट लोड गर्नुस