सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा समुदायमा फैलिदै कोरोना, साढे चार प्रतिशत सामुदायिक संक्रमण

२०७७ भदौ ८, ०७:३३ खबर संवाददाता

धनगढीः विश्व स्वास्थ्य संगठनले  आयातित संक्रमण, स्थानीय संक्रमण, सामुदायिक संक्रमण गरी र महामारी गरेर कोरोनाको संक्रमणलाई चार चरणमा विभाजन गरेको छ।

पहिलो चरणमा आयातित संक्रमण अर्थात् संक्रमण फैलिएका मुलुकमा भ्रमण गरेका मानिसबाट मात्र भाइरस देशमा भित्रिनु, दोस्रोमा बाहिरबाट आएका मानिसमा देखिएको संक्रमण स्थानीय मानिसहरूमा देखिनु, तेस्रोमा संक्रमित व्यक्तिसँग सिधै सम्पर्क बिना नै सर्ने र चौथो अथवा अन्तिममा महामारीका रुपमा फैलिनुलाई लिईन्छ।

कैलालीमा कुनै ट्राभल हिस्ट्री नै नभएका व्यक्तिहरुमा संक्रमण देखिन थालेपछि कोराना भाईरस तेस्रो अथात समुदाय स्तरमा फैलिन थालेको बताईएको छ। जिल्लामा कुल संक्रमितको झण्डै चार प्रतिशत संक्रमित समुदाय स्तरमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

अहिले सम्म भेटिएका एक हजार चार सय ५१ जना मध्ये ३ दशमलव ९९ अथवा ५८ जनामा सामुदायिक संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले बताए। उनले धनगढी उपमहानगरपालिका सहित जिल्लाका ७ स्थानीय तहमा सामुदायिक संक्रमण देखिएको बताए।

सात वटा स्थानीय तहमा मात्र साढे चार प्रतिशत सामुदायिक संक्रमण रहेको उनले बताए। जिल्लामा सबैभन्दा बढि धनगढीमा सामुदायिक संक्रमण देखिएको छ। स्वास्थ्य कार्यालयका अनुसार ५८ जना मध्ये धनगढी उपमहानगरपालिकामा मात्र २३ जनालाई सामुदायिक संक्रमण भएको देखिएको छ।

जुन धनगढी उपमहानगरपालिकाका कुल संक्रमितको १२ प्रतिशत हुन आउँछ। स्वास्थ्य कार्यालयका अनुसार आईतबार थपिएका ६ सहित धनगढीमा एक सय ८२ जनामा संक्रमण पुष्टि भएकोमा २३ जनामा सामुदायिक संक्रमण देखिएको छ। उनीहरुमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, विभिन्न संघसंस्थामा आवद्ध व्यक्ति, बैँक र निर्माण सेवाका कर्मचारी रहेका छन्। 

यस्तै टीकापुर नगरपालिका एक सय २० जना संक्रमित भेटिएकोमा आठ प्रतिशत अथात् १० जनामा सामुदायिक संक्रमण देखिएको स्वास्थ्य कार्यालयको तथ्याङ्क छ। गोदावरी नगरपालिकामा चार सय ४६ संक्रमित भेटिएकोमा ७ जना अथात एक दशमलव ५६ प्रतिशत, गौरीगंगा नगरपालिकामा एक सय ७९ संक्रमित रहेकोमा ९ जना अथात पाँच दशमलव ०८ प्रतिशत, घोडाघोडीमा ४७ संक्रमित भेटिएकोमा ६ दशमलव ३८ अथात तीन जनामा सामुदायिक संक्रमण पुष्टि भएको छ।

दुई सय ४६ जना संक्रमित रहेको लम्कीचुहामा शुन्य दशमलव ८१ प्रतिशत (दुईजना), कैलारी गाउँपालिकामा ४२ संक्रमित भेटिएकोमा ४ दशमलव ७६ प्रतिशत(तीन जना) र जोशीपुरमा १४ जना संक्रमित भेटिएकोमा ७ दशमलव १४ प्रतिशत (एकजना) मा सामुदायिक संक्रमण देखिएको छ।

गत चैतमै स्थानीय स्तरमा कोरोना संक्रमण देखिएको कैलालीमा अहिले समुदायमा संक्रमण देखिन थालेको हो। भारतबाट फर्किनेहरुको क्वोन्टिनमा उचित व्यवस्थापन नगरी सोझै घर पठाउनु, स्वास्थ्य सुरक्षाका मापदण्ड पालन नगर्नु लगायतका कारण समुदाय स्तरमा संक्रमण फैलिएको सरकारी अधिकारीले नै बताउन थालेका छन्।

धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले सामुदायि संक्रमण देखिएको बताउँदै परीक्षणको दायरा बढाउने तयारी रहेको बताए। उनले परीक्षणको दायरा बृद्धि गरी अवस्था यकिन गरिने जनाए। तर चिकित्सकहरुले भने कैलालीमा समुदाय स्तरमा कोरोना फैलिएको भएपनि कलस्टर अथवा निश्चित क्षेत्र, समूह एवंम स्थान विशेष मात्रै सिमित देखिएको बताएका छन्।

सेती प्रादेशिक अस्पतालका कोभिड १९ उपचार विभाग प्रमुख डाक्टर शेरबहादुर कमरले चैतमै स्थानीय संक्रमण देखिएको भएपनि संख्यात्मक रुपमा हेर्दा न्यून रहेपनि अहिले सामुदायिक संक्रमण भेटिन थालेको बताए। उनले अहिले देखिएको संक्रमण सामुदायिक त्यसमा पनि कलस्टरमा सिमित देखिएकाले नियन्त्रण गर्न सक्ने सम्भावना रहेको जनाए।

तर  स्वास्थ्य सुरक्षाका आधारभुत मापदण्डको पालन भएन भने तेस्रो चरणमा रहेको कोरोना चौथो अथात महामारीको चरणमा प्रवेश गर्ने भन्दै सचेतना अपनाउन उनको सुझाव छ। कोरोनाले महामारीको रुप लिए थेग्न नसक्ने अवस्था सिर्जना हुने भन्दै चिन्ता व्यक्त गरिएको छ।

तर कैलालीमा अहिले स्थानीय तहहरुले भारतबाट फर्किनेहरुलाई व्यवस्थापन गर्न छोडेका छन्। विद्यालय सञ्चालन गर्ने भन्दै यसअघि सञ्चालन गरेका क्वारेन्टिन बन्द गरिएपछि सेल्फ क्वारेन्टिनमा बस्न भन्दै उनीहरुलाई सोझै घर पठाउन थालिएको छ।

तर स्थिती नियन्त्रण बाहिर जान सक्ने संकेत देखिएपछि केही स्थानीय तह क्वारेन्टिन स्थापना गर्न फेरी जुरमुराएका छन्।

धनगढी उपमहानगरपालिकाका प्रवक्ता सन्तोश मुडभरीले विगतमा संघिय सरकारको विद्यालय सञ्चालन गर्ने निर्णयका कारण विद्यालयमा स्थापना गरिएका क्वारेन्टिन बन्द गरिएको बताए।

उनले अब भारतबाट फर्किनेहरुलाई व्यवस्थापन गर्न क्वारेन्टिन र होल्डीङ सेन्टर स्थापना गर्ने तयारी रहेको बताए। 
 

कमेन्ट लोड गर्नुस