दार्चुला जिल्लाभरी बाढी पहिरोको जोखिम बढ्यो
दार्चुला : निरन्तर भइरहेको वर्षाका कारण जिल्लाभरी बाढी पहिरोको जोखिम बढेको छ। ठाउँ ठाउँमा जमिन चिरा पर्ने तथा पहिरो जाने क्रम रोकिएको छैन्। जिल्लाभरीका सयौं घरहरु अहिले पनि पहिरोको जोखिममा छन्।
पहिरोले मालिकार्जुन गाउँपालिका वडा नम्बर १ र २ का दर्जनौ घरहरु जोखिममा परेका छन्। ‘मालिकार्जुन १ को सजानीमा घर विस्थापित भएका छन्। जमिन भासिने क्रम रोकिएको छैन्’ स्थानीय श्यामसिह सामन्तले भने, ‘पानी जमिन भित्र छिर्दैछ। जसको कारण गाउँ जोखिममा परेको छ।’
मालिकार्जुन –२ को भैसेखर्क, ज्यूनाडा लगायतका बस्ती जोखिममा छन्। घरमाथि र तलबाट निरन्तर पहिरो गइरहेको कारण स्थानीय त्रसित छन्। यस्तै मार्मा गाउँपालिका वडा नम्बर ४ को धारीगाड बस्तीमा पहिरो गएको छ। त्यहाँ आधादर्जन परिवार विस्थापित हुँदैछन्।
त्यस्तै दुहुँ, गाउँपालिका –३ को तिमुरपाटाको नाग भन्नेमा पहिरो जाँदा अहिले पनि स्थानीय त्रिपालमा बस्दै आएका छन्। पहिरोले दुई जनाको ज्यान गएको थियो। अहिले पनि त्यो क्षेत्रमा स्थानीय समस्यामा रहेको गजेन्द्र महराले बताए।
उता महाकाली नगरपालिका वडा नम्बर२ को मैखोलीको चूक्याडी र पार्की टोल लगायतका क्षेत्रमा एक दर्जन परिवार अहिलेपनि पहिरोको जोखिममा छन्। १४ परिवार अहिलेपनि विद्यालयमा बस्दै आएका छन्।
नौगाडका दर्जनौ परिवार अहिले पनि पहिरोको जोखिममा छन्। नौगाड वडा नम्बर २, ५ र ६ नम्बर वडाका अधिकांश बस्ती पहिरोको जोखिममा छन्। मार्मा गाउँपालिका वडा नम्बर ४ को धारीगाड बस्तीमा पनि पहिरो गएको छ। पहिरोका कारण घरको तलमाथि ठाउँ ठाउँमा दरार देखिएको छ।
पहिरोका कारण आधा दर्जन घरधुरीलाई सुरक्षीत स्थानमा सार्ने तयारी भइरहेको मार्मा गाउँपालिका अध्यक्ष जमनसिह धामीले बताए। पहिरोपछि प्रमुख प्रशासकीय अधिकृत रामकुमार राना, प्राविधिहरुले निरीक्षण गरेका छन्। पहिरोको निरीक्षणपछि ६/७ घरधुरीलाई सुरक्षित ठाउँमा सार्नुपर्ने अवस्था देखिएको अध्यक्ष धामीले बताए।
धारीगाडमा यसअघि पनि पहिरोको जोखिम थियो। अहिलेको वर्षाले झन बस्तीको जोखिम बढाएको हो। ‘पहिरोले घर छेउ र घर भन्दा तल माथि दरारै दरार देखिएका छन्’ वडा अध्यक्ष उदयसिह महराले भने।