धनगढीकी क्यान्सर पीडित खड्का भन्छिन्, ‘सासको भर छैन, तर यति चाँडो हार मान्दिनँ’
धनगढी : जब उनलाई क्यान्सर छ भन्ने थाहा भयो छाङाबाट खसे जस्तै भईन्। विश्वास गर्न नै मुस्किल भयो। विश्वास पनि कसरी लाग्थ्यो होला र भर्खर त उनी सपना देख्न थालेकी थिईन्।
डेढ बर्ष अगाडिको कुरा हो, काठमाडौँमा उपचारका क्रममा धनगढी उप–महानगरपालिका वडा नम्वर ४ की विद्या खड्कालाई क्यान्सर भएको थाहा भयो। सुरुमा न उनले विश्वास गरिन् न उनका परिवारका सदस्य र आफन्तले नै विश्वास गरे। तर क्यान्सर भएकै थियो, सबैले विश्वास गर्नै पर्ने भयो।
‘आफुले यो गर्छु, त्यो गर्छु भनेर योजना बनाउन थालेकी थिए। जिवन जिउन सिकिरहेकी थिए,’ खड्काले भनिन्, ‘असल बुहारी बन्ने प्रयासमा थिए। छोरी र जीवन साथी (डेविड खड्का) संग आफ्नो सम्पूर्ण जीवन खुसियाली संग बिताउन चाहन्थे। तर मेरो दुर्भाग्य, मलाइ क्यान्सर भयो।’
क्यान्सरले जिवनमा धेरै कुरा सिकाएको अनुभव भने विद्याको छ। उनले अगाडि थपिन्, ‘एक वर्षभित्रै धेरै यस्ता समय पनि आए, जुन बेला पीडा सहन नसकेर जीवन त्याग गरिदिउ जस्तो लाग्थ्यो। तर फेरी आफ्नो परिवार साम्झिन्थे र आफुलाई बलियो बनाउथे। । थाहा छैन् मेरो सासले मलाई कहिलेसम्म साथ दिने हो। तर म यति चाँडो हार त मान्दिन्।’
एक बर्ष दिल्लीमा उपचार गराएको बताउँदै विद्याका श्रीमान डेविडले भने, ‘कोरोना भाईरसको महामारीपछि दिल्लीमा पनि उपचारमा असहजता भयो। अहिले विद्यालाई घर ल्याएका छौ। उपचारका लागि काठमाडौँ लैजाने तयारी छ।’
उनका अनुसार मंगलवार विद्यालाई उपचारका लागि काठमाडौँ लगिने छ। राजिव गान्धी अस्पताल दिल्ली र काठमाडौँका डाक्टरलाई सम्पर्क गराएर किमो थेरापी गरिने खड्काले बताए। ‘यो दुर्लभ किसिमको क्यान्सर हो,’ खड्काले भने, ‘क्यान्सर त भनिएको छ। तर कुन अंगमा मुख्य संक्रमण छ, अहिलेसम्म डाक्टरले भन्नै सकेका छैनन्। ठ्याक्कै पत्ता लगाउन नसक्दा सम्म शल्यक्रिया पनि सम्भव हुँदैन्।’
मेटास्टेसिस क्यान्सर लागेको हुन सक्ने डाक्टरहरुले अनुमान गरेका छन्। डेविड फुटवल खेलाडी हुन्। सुदूरपश्चिमले छैठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा पुरुषतर्फ फुटवलमा स्वर्ण पदक जित्दा उनले सुदूरपश्चिमको प्रतिनिधित्व गरेका थिए।