रेडक्रस कैलालीले कोरोना भाइरस नियन्त्रणमा के–के काम गर्यो ?
धनगढी: नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाले कोरोना भाइरस(कोभिड–१९) का क्षेत्रमा गरेका कार्य सार्वजनिक गरेको छ। बिहिबार धनगढीमा पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा रेडक्रसले कोभिड–१९ को सुरुवाती देखि गर्दै आईरहेको कार्य सार्वजनिक गरेको हो।
रेडक्रस सोसाइटी कैलालीका मन्त्री लोकराज जोशीले कैलालीमा रहेका विभिन्न क्वारेन्टिन व्यवस्थापनका लागि टेण्ट, बाल्टिन, मग, जग, कम्बल, किटनाशक झुल, सेनिटाइजर, मास्क, ग्लोब्स लगायतका स्वास्थ्य सामाग्री वितरण गरेको बताए। जिल्लामा अभिमुखीकरण, घरदैलो कार्यक्रम, पर्चा पम्पलेट जस्ता जनचेतनामुक कार्यक्रम गरेको समेत उनले बताए।
यस्तै त्रिनगर भन्सार नाकामा हेल्प डेस्क स्थापान गरी ४० हजार ६ सय ३२ जनालाई खानेपानी वितरण तथा गन्तव्य स्थलसम्म जानका लागि सवारी साधानको व्यवस्थापन गरिएको रेडक्रसले जनाएको छ।
त्यस्तै धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको आइसोलेशन सेन्टर तथा महिला होल्डिङ सेन्टरका लागि बेड, टेलिभिजन र व्यक्तिगत सुरक्षाका सामग्रीहरु, मनोसामाजिक परामर्शका लागि कर्मचारीको व्यवस्थापन समेत रेडक्रसले गरेको जनाइएको छ।
यस्तै धनगढी क्षेत्रमा २१ वटा क्वारेन्टिन तथा सार्वजनिक स्थलमा हात धुने स्थलहरु निर्माण, धनगढी कारागारमा रहेका बन्दीहरुलाई २ सय थान साबुन, ६ थान त्रिपाल र १ थान टेण्ट वितरण गरेको रेडक्रस शाखा कैलालीले जानकारी दिएको छ।