कोभिड–१९ फोटो प्रतियोगिताको उपाधि कैलालीका चौधरीलाई
काठमाडौँ: कैलालीका फोटो पत्रकार झग्गुप्रसाद चौधरी ‘कोभिड–१९ फोटो प्रतियोगिता’ मा प्रथम भएका छन्। फोटो पसलले १८१औँ विश्व फोटोग्राफी दिवसका अवसर पारेर बुधबार आयोजना गरेको प्रतियोगितामा फोटो पत्रकार चौधरी प्रथम भएका हुन।
कोभिड–१९ को असर र त्रासका बीचमा बितेको दिनचर्या तथा कोरोनाबाट बच्न अपनाउन सकिने उपाय एवं असरबारे देशभरिबाट आएका फोटोमध्ये उत्कृष्ट विजेता छनोट गरिएको थियो। यस्तै फोटो पत्रकार रवीन कार्की दोस्रो र राधिका कँडेल तेस्रो भएका हुन। कँडेल राष्ट्रिय समाचार समिति (रासस) पोखरामा कार्यरत हुन।
देशभरबाट सङ्कलन भएका झण्डै दुई हजार फोटोबाट प्रथम, द्वितीय र तृतीय फोटो छनोट गरिएको हो। कोरोना माहामारीको सङ्क्रमणलाई ध्यान दिँदै भर्चुअल कार्यक्रममार्फत प्रतियोगिताको विजेता घोषणा गरिएको फोटो पसल प्रालिका अध्यक्ष योगेन्द्रजङ्ग बस्नेतले जानकारी दिए।
फोटो छनोटका लागि वरिष्ठ फोटो पत्रकार विकास रौनियार, नरेश श्रेष्ठ र मधुसूदन पौडेल रहेको तीन सदस्यीय समिति गठन गरिएको थियो। प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार, द्वितीयलाई १० हजार तथा तृतीयलाई पाँच हजार प्रदान गरिएको थियो।