सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु भएका अधिकांश दीर्घ रोगी
धनगढीः गत चैत दोस्रो साता पहिलो पटक कोरोना संक्रमण देखिएको सुदूरपश्चिम प्रदेशमा अहिले सम्म १२ जनाको मृत्यु भएको छ। कैलाली, अछाम, बाजुरा र बझाङका १२ जनाको मृत्यु भएकोमा ति मध्ये तीन जनाले भने आत्महत्या गरेका थिए।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश भित्र मात्र ७ जनाको मृत्यु भएको थियो। अन्यको प्रदेश बाहिरका अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। जेठ १८ गते सुदूरपश्चिममा पहिलो पटक बाजुराकी दुई वर्षीया बालिकाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो।
आमाबुवासँग भारतको नयाँ दिल्लीबाट आएकी दुई बर्षीया बालिकामा ज्वरो आएपछि श्वासप्रश्वासमा सममस्या थियो। बालिकाको मृत्युपछि मात्र कोरोना पुष्टि भएको थियो। आमामा समेत संक्रमण देखिएपनि बालिकालाई भने कडा खालको संक्रमणले च्यापेपछि मृत्यु भएको अस्पतालले जनाएको छ।
बालिकाको मृत्युपछि भर्ना भएका संक्रमितहरुमा समेत कडा खालका लक्षण देखिएका थिएनन्। जिल्ला अस्पताल बाजुराका डाक्टर रुपचन्द्र विश्वकर्माले बालिकामा कोरोना संक्रमणबाट कडा खालको निमोनियाको समस्या देखिएको बताए। अस्पतालमा सहयोगी उपचारका लागि पुगेका अन्य संक्रमित समान्य लक्षण देखिएको भएपनि बालिकाको जस्तो समस्या नभएको उनी बताउँछन्।
कैलालीको गोदावरी नगरपालिकाका ४६ वर्षीय पुरुषको समेत कोरोना संक्रमणबाट मृत्यु भएको थियो। ती पुरुषमा समेत अहिले सम्म भेटिएका संक्रमित मध्ये कडा खालको लक्षण देखिएको थियो। निमोनिया भएपछि भेन्टिलेटरमा उपचार गराईरहेका पुरुषको मृत्यु भएको थियो।
कोरोना विशेष अस्पताल तोकिएको सेतीमा उपचाररत संक्रमितहरु मध्ये अहिले सम्म कडा संक्रमण भएका बिरामी गोदावरीका मृतक नै रहेको अस्पतालले जनाएको छ। सेती प्रादेशिक अस्पतालको कोभिड रोग उपचार विभाग प्रमुख डाक्टर शेरबहादुर कमरले गोदावरीका मृतक पुरुषमा जस्तो अन्य बिरामीमा गम्भीर समस्या नदेखिएको बताए।
बाजुरा र कैलालीमा कोरोना संक्रमणबाट मृत्यु भएका दुई जना बाहेक अन्य मृतकमा गम्भीर खालका लक्षण देखा नपरेको बताईएको छ। जेठ २४ गते कोरोना भाईरसले सुदूरपश्चिममा दोस्रो मृत्यु भएको थियो। धनगढी उप–महानगरपालिका वडा नम्वर ४ की ५५ वर्षीया महिलाको मृत्यु भएको थियो।
ती महिला मृगौलाकी बिरामी थिईन्। असार ३ मा लम्कीचुहा नगरपालिका वडा नम्वर २ की ४३ वर्षीया महिलाको कोरोना भाईरसका कारण मृत्यु भएको थियो। ति महिलालाई न्यूरोसम्बन्धी समस्या देखिएपछि नेपालगन्ज मेडिकल कलेज भर्ना गरिएको थियो।
असार १३ गते कैलालीकै गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरूषको चितवनको भरतपुर अस्पतालमा मृत्यु भएको थियो। ती पुरुष पनि फोक्साको क्यान्सरको उपचार गराइरहनुभएको थियो। साउन २९ गते पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएका अछामका १८ वर्षीय पुरुष पनि मुटुरोगबाट ग्रसित थिए।
यसरी हेर्दा प्रदेशमा कोरोनाको संक्रमणपछि गम्भीर बिरामी भएर मृत्यु हुनेको संख्या न्युन छ। सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले प्रदेशमा कोरोनाको लक्षण देखिएर दुईजनाको मात्र मृत्यु भएको बताए।
अन्य मृतक दीर्घरोगी र कुनै न कुनै रोगबाट ग्रसित रहेको बताए। तर विश्व स्वास्थ्य संगठनले भने प्रतिनिधि खटाएर मृतकका बारेमा आवश्यक अध्ययन गरिरहेको जनाएको छ।
सुदूरपश्चिममा कोरोना संक्रमणपछि गम्भीर बिरामी भएर ज्यान गुमाउनेको संख्या अहिले सम्म न्युन देखिएपनि स्वास्थ्य सुरक्षाका उपाय र आवश्यक सावधाानी नअपानाएमा स्थिती नियन्त्रण बाहिर जान सक्ने जोखिम कायमै रहेको स्वास्थ्यकर्मीले बताएका छन्।