सुदूर नेपाललाई विश्वसँग जोड्दै

भलिबल खेलाडीको एक लाखको कोरोना बीमा

२०७७ साउन ३२, ०९:१३ रासस

लक्ष्मीनारायण स्मृति मेमोरियल ट्रष्टले राष्ट्रिय भलिबल टोलीका खेलाडी प्रत्येकको रु एक लाख बराबरको कोरोना बीमा गरेको छ। ट्रष्टले कूल ३६ भलिबल खेलाडीको कोरोना बीमा गरेको हो।  

ट्रष्टले गत वर्ष मङ्सिरमा नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा सहभागी महिला तथा पुरुष राष्ट्रिय टोलीका सबै खेलाडीको कोरोना बीमा गरेको हो। ट्रष्टले सागमा सहभागी बीच भलिबलको महिला तथा पुरुष टोलीका खेलाडीको समेत कोरोना बीमा गरिदिएको छ। ट्रष्टले आज महिला टोलीकी खेलाडी प्रतिभा माली र बीच भलिबल टोलीका सदस्य दिल सुनारको उपस्थितिमा बीमा गरेको हो। 

देशमा कोरोना महामारीको जोखिम बढ्दै गएको अवस्थामा खेलाडीको सुरक्षालाई ध्यानमा राखि कोरोना बीमा गरिएको ट्रष्टकी संरक्षक अन्जु श्रेष्ठले बताए। श्रेष्ठ नेपाली महिला भलिबल टोलीकी पूर्व कप्तानसमेत हुन्। बीमा कार्यक्रममा भलिबल खेलाडीद्वय माली र सुनारले पहिलो पटक भलिबल खेलाडीको कोरोना बीमा गरेकामा ट्रष्टलाई धन्यवाद दिए। ट्रष्टले बर्सेनी वर्षको उत्कृष्ट महिला र पुरुष भलिबल खेलाडीलाई पुरस्कृत गर्दै आएको छ। पूर्वकप्तान श्रेष्ठले आफ्ना बुबा लक्ष्मीनारायण श्रेष्ठको स्मृतिमा ट्रष्ट स्थापना गर्नुभएको हो।
 

कमेन्ट लोड गर्नुस