सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको सिगासमा पहिरो जाँदा दुई घरपरिवार विस्थापित

२०७७ साउन ३२, ०६:०० खबर संवाददाता

बैतडी: अविरल वर्षाका कारण बैतडीको सिगासमा गाउँपालिकामा पहिरो जाँदा दुई परिवार विस्थापित भएका छन्। पहिरोका कारण गाउँपालिकाको वडा नम्बर ७ न्यौलालीका हरिशचन्द्र अवस्थी र रामबहादुर ऐरको घरपरिवार विस्थापित भएको हो। 

वर्षाले सिचाँइ कुलो भत्किदा घरको तलबाट पहिरो गएकोले दुवै परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। विस्थापित हरिशको परिवारलाई सुरक्षित स्थानमा सारिएको स्थानीय सिद्धराज अवस्थीले बताए। अन्य ७ घर पनि जोखिममा रहेको बताइएको छ।  

यसका साथै लगातारको वर्षाले सोही ठाउँमा रामसिंह ऐरको ३ रोपनी जमिन बगाएको अवस्थीले बताए।  यस्तै न्यौलालीमा रहेको नहर पनि बगेको छ।  साथै स्यालाकामा रहेका २ सिचाँइ कुलोको २३५ मिटर भाग पनि बगाएको अवस्थीले बताए।

प्रहरीको टोली घटनास्थल पुग्न अझै केही समय लाग्ने बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। 

कमेन्ट लोड गर्नुस