सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुटुको भल्ब फेरेका बझाङका १५ वर्षीय किशोरको उपचारमा समस्या, सहयोगको याचना

२०७७ साउन ३२, ११:५६ खबर संवाददाता

धनगढीः मुटुको भल्ब फेरेका बझाङका १५ वर्षीय किशोर आर्थिक अभावले उपचार गर्न नसकेपछि सहयोगको याचना गरिएको छ।

जिल्लाको बित्थडचिर गाउँपालिका वडा नम्बर ९ को सुनकुडाका १५ वर्षीय किशोर रुपक ढाँटको मुटुको भल्ब फेरेपनि आर्थिक अभावमा थप उपचारका लागि अस्पताल जान नसकेका हुन्।

भारतमा मुटुको भल्ब फेरेका ढाँट आर्थिक समस्याकै कारण बझाङ फर्किएका थिए। गाउँमा ऋण काँढेर नियमित चेकजाँच र थप उपचारका लागि फर्किने सोच बनाएको भएपनि नपाउँदा झण्डै चार महिनादेखि घरमै बसेका छन्।

उनले मुटु दुःख्ने समस्या देखिएपनि आर्थिक अभाव हुँदा नियमित औषधी सेवन गर्नबाट समेत वञ्चित भएकाले सहयोगका लागि याचना गरेका छन्।

चिकित्सकले दुई–दुई हप्तामा चेकजाँच गर्न सल्लाह दिएको भएपनि आर्थिक अभावकै कारण चार महिना सम्म अस्पताल जान नसकिएको बताउँदै उनले आफ्नो जीवन रक्षाका लागि सबैसँग सहयोगको याचना गरेका हुन्।

‘नियमित खादै आएको औषधी सकिएको छ। धनगढीमा आफन्त गएका बेला मगाएको थिए। तर भेटिएन। नेपालगञ्ज जान सल्लाह दिएका छन्।’ उनले भने, ‘तर पैँसा नभएर जान सकिरहेको छैन्। उपचार गर्दागर्दै ५–६ लाख ऋण लागिसक्यो गाउँमा पनि कसैले पत्याउँदैनन्। मेरो उपचारमा सहयोग गरिदिए आभारी हुने थिए।’

मुटु सम्बन्धी समस्या देखिएपछि ढाँटको एक वर्ष पहिले भारतमा शल्यक्रिया भएको थियो। चिकित्सकले उनको मुटुको भल्ब फेरेका छन्।

त्यसअघि नेपालका विभिन्न अस्पतालमा उपचार गराउँदा पनि रोग पत्ता लागेको थिएन। तर नेपालमा पनि उनको उपचारमा ठुलो रकम खर्च भएको थियो। 
 

सहयोगका लागि पीडित रुपक ढाँटको सम्पर्क नम्बर ९८६८५०२०९६ 

कमेन्ट लोड गर्नुस