बैतडीमा शिक्षक नै अवैध मदिरा ओसार्दै
धनगढी: बैतडी शिक्षकले अवैध रुपमा मदिरा ओसार्ने गरेको घटना सार्वजनिक भएको छ। जिल्लाको सिगास गाउँपालिका –६ नौलो प्राथमिक विद्यालयमा कार्यरत शिक्षक राजेन्द्र साउद अवैध मदिरा ओसारपोसार गर्दागर्दै समातिएपछि घटना सार्वजनिक भएको हो।
बझाङबाट देउलेकबाट मदिरा ल्याउदै गर्दा शुक्रबार मोरीबगर नजिक सिगास समाज सुधार समिति र महादेब युवा संञ्जालका महिलाहरुले उनीलाई समातेका थिए। शिक्षक साउदबाट १५ हजार बराबरको अवैध मदिरा बरामद गरेका थिए।
उनी जस्तै अर्का गणेश मावीका शिक्षक पदम साउदले समेत आफ्नी श्रीमती भगवती साउलाई प्रयोग गरेर अवैध रुपमा मदिरा ओसार्ने गरेको स्रोतले बताएको छ। ‘उनको विद्यालय नजिकै मदिरा पसल छ। विरोध गर्नेलाई श्रीमती प्रयोग गरेर गालीगलाैच गर्न लगाउँछन्’ स्रोत भन्छ, ‘यसबारे धेरै पटक प्रहरीलाई जानकारी दिएका छौं तर प्रहरी गाउँमा आउन मान्दैन।’
वडालाई मदिरा निषेधित क्षेत्र घोषित गरिएपनि अवैध रुपमा मदिरा ओसारपोसार गर्ने क्रम भने रोकिएको छैन। त्यसको न्युनिकरणका लागि भने महिला तथा युवा समुह सक्रिय रुपमा लागिरहेका छन्।