सुदूर नेपाललाई विश्वसँग जोड्दै

युरिया मलको अभाव

२०७७ साउन २९, ०५:२३ रासस

सुनसरीमा कृषकलाई धान बालीमा प्रयोग गर्नका लागि आवश्यक पर्ने युरिया मलको अभाव भएको छ। 

सुनसरी सदरमुकाम इनरुवासहित हरिनगर, कोशी, भोक्राहा नरसिंह, देवानगञ्ज, बर्जु, गढी गाउँपालिकाकालगायतका कृषकलाई धानबालीमा प्रयोग गर्नका लागि आवश्यक पर्ने युरिया मलको अभाव भएको हो। 

कडा मेहनत र ठूलो लगानी गरेर धानखेती गरेको भए पनि युरिया मलको अभाव भएको देवानन्जका कृषक चन्दन मेहताले बताए। नेपाली बजारमा युरिया मल सहजरुपमा नपाउँदा कृषकलाई समस्या भएको कृषक मेहताको भनाइ छ। 

कोरोना भाइरस महामारीका कारणले ठूलो आर्थिक नोक्सानीको सामना गरेका कृषकले अहिले आएर धानखेती गरेको भए पनि समयमा युरिया मल नपाएका कारणले झन समस्या भएको कृषक वीरेन्द्र यादवले बताए।

कोरोना भाइरस सङ्क्रमणका कारण नेपाल–भारत सिमाना सिल गरेकाले भारतीय युरिया मलसमेत ल्याउनका लागि समस्या भएको कृषकले बताएका छन्। पर्याप्तमात्रामा युरिया मल बजारमा नपाएका कारणले उत्पादनमा कमी आउने कृषकले बताएका छन्।

अहिले बजारमा युरिया मलको अभाव भएको साल्ट ट्रेडिङ विराटनगरका प्रमुख राधेश्याम चौधरीले बताए। उनले युरिया मल आउने क्रममा रहेकाले भदौ २ गतेदेखि बजारमा पर्याप्तमात्रमा मल पाउने बताए। कोरोना भाइरसका कारणले सीमानाकालाई सिल गरेको भए पनि सुनसरीमा चोरी तस्करी भएर भारतीय युरिया मल आउने गरेको स्थानीय व्यापारीले बताएका छन्। 

खुला सीमा कारणले भारतीय युरिया मल नेपाली बजारमा आउने गरेको तर त्यसको मूल्य अधिक पर्ने गरेका कारण कृषकलाई समस्या भएको इनरुवा– १ स्थित कुशवाह एग्रोभेटका सञ्चालक पञ्चदेव मेहताले बताए।
 

कमेन्ट लोड गर्नुस