धनगढीमा प्रहरी चौकी भित्र कसले रेट्यो पुरुषको घाँटी ?
धनगढीः मंगलबार साँझ करिब साढे ७ बजेको कुरो हो, धनगढी उप–महानगरपालिका वडा नम्बर १४ फुलबारी ‘सी’ गाउँकी निर्मला चन्द चुलोचौको गर्ने तयारीमा थिईन्। छोराछोरीसँग खानामा के पकाउने भन्ने सल्लाह हुँदै थियो।
त्यती नै बेला देवर नाता पर्ने अमरबहादुर चन्द घरमा आईपुगे। मदिराले लठ्ठ भएका उनले भाउजु (निर्मला) लाई आग्रह गर्दै आफू खाना त्यतै खाने भने। उनले आफू खाना खाएर भाउजुकै घरमा सुत्ने बताए।
मदिराले लठ्ठ भएका कारण उनलाई निर्मलाको परिवारले छुट्टै सुत्ने व्यवस्था मिलायो। माथिल्लो तलाको कोठामा सुत्न गएका अमर एक्कासी उठेर घरतर्फ लागे। घर फर्किएका उनी एकछिन पछि फेरी आए।
त्यती बेला अमरले हसिया समेत बोकेका थिए। मदिरा सेवन गरेको भएकाले अप्रिय घटना घटाउन सक्ने भन्दै निर्मलाको परिवार छोराछोरी सहित छिमेकीको घर गए। उनी यो घरका मान्छे कहाँ गए ? कोही छैनन्, भन्दै एक्लै बोल्दै निर्मलाको घर वरीपरी चाहादै थिए।
घरी छतमा पुग्थे भने घरी घरको आगनमा डुल्थे। उनी त्यहाँ कसैलाई नभेटेपछि पुनः आफ्नो घरतर्फ लागे। उनी फर्किएपछि निर्मलाका परिवार घर आए। तर एकछिनमै फेरी अमर उसैगरी आए। निर्मलाको परिवार फेरी छिमेकीको घर गयो।
हैरानी दिन थालेपछि निर्मलाले उनकी बहिनी डम्बरी चन्दलाई फोन गरेर घर लैजान सुझाईन्। डम्बरी आएर उनलाई लगिन्। तर डम्बरीले पनि मदिराले लठ्ठ भएका दाजुलाई घरमा थुनेर राख्न सकिनन् र उनी फेरी घर बाहिर निस्केर टोलमा हल्ला गर्न थाले।
घर–घरमा पुगेर ढोका ढकढकाउँदै डुल्न थाले। मध्यरातमा अर्का स्थानीय किर्त विष्टको घरमा पुगे। भान्जा नाता पर्ने विष्टको घरको ढोकामा लात्ताले हान्न थालेपछि उनले प्रहरीलाई खबर गरे। सीमा प्रहरी चौकीबाट आएका दुईजना प्रहरीले चन्दलाई पक्राउ गरेर लगे।
०००
बुधबार बिहान स्थानीय कृत विष्टलाई प्रहरी चौकीबाट फोन आउँछ। ‘अमरका विरुद्ध उजुरी दिन आउनुस्।’
सोही आधारमा विष्टले अमरकी भाउजु नाता पर्ने निर्मलालाई फोन गरी राती ज–जसको घरमा गएर दुःख हैरानी दिएको छ उनीहरुलाई लगेर उजुरी गर्न चौकी जान आग्रह गरे।
‘किर्त भान्जाले फोन गर्नुभयो, प्रहरीले उजुरी दर्ता गर्नुपर्यो भन्दैछ तपाईहरु जानुस् भन्नुभयो।’ निर्मलाले भनिन्, ‘उहाँले तपाईको नातेदार हुन् एक्लै उजुरी दिदा पनि हुन्छ भन्दा मैले म एक्लै गर्दैन्, ज–जसलाई दुःख दिएको छ, सबै जाउ तपाई पनि हिड्नुस भनेकी थिए।
तर उहाँले काम विशेषले धनगढी जानुछ भन्नुभयो। पछि हामी पनि गएनौँ।’ तर दिउँसोतीर सीमा प्रहरी चौकीको टोली टोलमै पुग्यो।
०००
निर्मलाको घरमा प्रहरी पुगेपछि टोलका अन्य व्यक्ति पनि भेला भए। प्रहरीले अमर चन्द विरुद्ध उजुरी दिनुस् भन्दै दबाब दियो। प्रहरी आफैले लेखेर ल्याएको उजुरीमा निर्मला सहित स्थानीय तीन महिलाको हस्ताक्षर गरेर लग्यो।
प्रहरीले उनीहरुको हस्ताक्षर गरेर लगेको एकछिनमै अमरको मृत्यु भएको हल्ला फैलियो। निर्मलाले भनिन्, ‘प्रहरी आएर हाम्रो हस्ताक्षर गरेर लग्यो। त्यसपछि अमरको मृत्यु भईसकेको हल्ला फैलियो।’
अमरको मृत्युबारे प्रहरीले जानकारी नदिएका कारण परिवारले सीमा प्रहरी चौकीका अधिकृतमाथि आशंका गरेका छन्।
अमरको मृत्युबारे सेती अस्पतालबाट खबर पुगेको थियो परिवारलाई
सीमा प्रहरी चौकीले शौचालयमा लडेको अवस्थामा भेटिएका भनिएका अमरबहादुर चन्दको मृत्युको खबर परिवारले अस्पताल स्रोतबाट थाहा पाएका थिए।
मृतककी बहिनी डम्बरीका अनुसार सेती प्रादेशिक अस्पतालमा कार्यरत कर्मचारीले उनलाई घाईते अवस्थामा अस्पताल पुगाएको भनेका थिए। एकछिनमा तीनै कर्मचारीले उनको मृत्यु भईसकेको खबर दिएका थिए।
‘हामीलाई प्रहरीले घटनाबारे दिउँसो सम्म कुनै जानकारी नै दिएन।’ डम्बरीले भनिन्, ‘अस्पतालमा हाम्रो आफन्त भएकाले थाहा पायौँ।’
स्रोतका अनुसार घाँटी रेटिएको अवस्थाका अमरलाई लिएर प्रहरी बुधबार बिहान सेती अस्पताल पुगेको थियो। तर अस्पताल पुगाउने बेला उनको मृत्यु भईसकेको थियो।
शौचालयमा ब्लेडले आफैले घाँटी रेटेको हुनसक्ने प्रहरीको दावी
कैलाली प्रहरीले भने चन्द सीमा प्रहरी चौकी फुलबारीको शौचालयमा लडेको अवस्थामा फेला परेको जनाएको छ।
मंगलबार राती पक्राउ गरिएका चन्दलाई बिहान छलफल गर्ने भन्दै फुलबारी चौकीमै राखेका बेला शौचालयमा लडेको अवस्थामा उनी फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब प्रतिक विष्टले बताए।
‘फूलबारीमा हिरासत कक्ष छैन्। पक्राउ गरिएकाहरुलाई जिल्लाकै हिरासतमा पठाउने हो। तर त्यो राती मदिरा सेवन गरेका कारण बिहान छलफल गराउने मनसायका साथ चन्दलाई उतै राखिएछ।’
प्रहरी नायब उपरिक्षक विष्टले भने, ‘शौचालय गएका बेला ख्वा ख्वा गरे जस्तै आवाज आएपछि हेर्दा उनी लडिरहेको देखेपछि अटोमा राखेर तत्कालै धनगढीतर्फ ल्याईएको रहेछ। यताबाट पठाएको एम्बुलेन्सले कनरीबाट उनलाई ल्याएको थियो। अस्पताल पुगाउँदा मृत्यु भईसकेको थियो।’
घटनाको अनुसन्धान भईरहेको बताउने प्रहरी नायब उपरिक्षक विष्टले शौचालयमा ब्लेड फेला परेको बताउँदै आफैले घाँटी रेटेको हुनसक्ने आशंका गर्छन्। तर शव परीक्षण रिर्पोट आएपछि धेरै कुरा खुल्ने विश्वास उनले गरे।
शव हेर्न सम्म नदिएको परिवारको आरोप
अमरको मृत्युको खबरपछि आफन्त सेती प्रादेशिक अस्पताल पुगेका थिए। तर प्रहरीले उनीहरुलाई शव हेर्न समेत नदिएको आरोप लागेको छ।
‘हामीलाई प्रहरीले सुरुमा घटनाबारे जानकारी दिएन। अहिले शव समेत हेर्न दिएको छैन्।’ मृतककी बहिनी डम्बरीले भनिन्, ‘प्रहरीको भूमिकामाथि शंका छ। निष्पक्ष छानविन हुनुपर्छ।’
मृतक चन्दका श्रीमती सहित पाँच छोराछोरी छन्। चार छोरीको विवाह भईसकेको छ भने छोरा विदेशमा रहेका छन्। अहिले उनको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ।