सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालले खेल्ने विश्वकप छनोट खेल स्थगित

२०७७ साउन २८, ०७:४३ रासस

काठमाडौँ: कतारमा सन् २०२२ मा हुने फिफा विश्वकप र चीनमा सन् २०२३ मा हुने एएफसी एसियन कपको संयुक्त छनोट प्रतियोगिताअन्तर्गत बाँकी रहेका खेलहरु पुनः स्थगित भएको छ। नेपालले प्रतिस्पर्धा गरिरहेको फिफा विश्वकप छनोट र एसियन कप छनोटअन्तर्गतका बाँकी खेलहरु पुनः स्थगित गरिएको एसियन फुटबल कन्फेडेरेसन (एएफसी)द्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

कोरोना भाइरसको महामारीलाई दृष्टिगत गर्दै फिफासँगको छलफलपछि अक्टोबर र नोभेम्बरमा तय गरिएको छनोट खेलहरु सबै स्थगित गरिएको एएफसीले जनाएको हो। अब उक्त खेलहरु सन् २०२१ मा हुने जनाएको छ । तर, कुन मितिमा हुने भन्ने निर्णय भएको छैन।

विश्वकप र एसियन कप छनोटको खेलमा नेपालले अब तीन होम खेल खेल्न बाँकी छ । यसअघि नेपालले दशरथ रङ्गशालामा असोज र कात्तिकमा तीन खेल खेल्ने तालिका तय गरेको थियो। समूह ‘बी’ मा रहेको नेपालको पाँच खेलबाट तीन अङ्क रहेको छ। चाइनिज ताइपेलाई पराजित गरेको नेपाल समूहको चौथो स्थानमा छ । यस समूहको शीर्ष स्थानमा भने अष्ट्रेलिया रहेको छ।
 

कमेन्ट लोड गर्नुस