धनगढीका तीन सय घरमा पानी पस्यो, ५५ घरमा क्षती
धनगढी : बर्षाका कारण धनगढी उपमहानगरपालिकाका अधिकांश क्षेत्र डुवानमा परेका छन्। धनगढीको क्याम्पस रोड, शिवनगर, एलएनचोक, पार्कचोक, बिशालनगर, मिलनचोक, चौराह, उत्तरबेहडी, चटकपुर लगायतका अधिकासं क्षेत्रमा डुवान भएको हो।
बिशालनगरमा झण्डै आधा दर्जन परिवार विस्थापित भएको स्थानीय टेकराज जोशीले बताए। उनले घरमा पानी पसेपछि छिमेकी र आफन्तको घरमा बस्नुपरेको बताए। सबैभन्दा बढि धनगढीको बजार क्षेत्र र वरपर रहेका वडामा डुवान भएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक हिक्मत थापाले बाढी बस्तीमा पसेपछि झण्डै तीन सय घरमा पानी पसेको बताए। ‘बजार क्षेत्र जलमग्न भएको छ भने तीन सय घरमा पानी पसेको छ,’ प्रहरी निरिक्षक थापाले भने, ‘पानी पसेपछि ५५ घरमा क्षती पुगेको छ। बाँकी क्षतीको बिबरण आएको छैन्।’
धनगढी उप–महानगरपालिका र नगर विकास समितिकै संलग्नतामा खोलानाला अतिक्रमणको चपेटामा परेपछि धनगढीमा डुबानको समस्या बढ्दै गएको छ। धनगढीमा सडको पानी निकासका लागि बनाईएका नाली समेत काम नलाग्ने भएका छन्।
ति नालीले सडकको पानी समेत थेग्न सकेका छैनन् भने पानी निकास हुने नाला र कुलोमा धनगढी उप–महानगरपालिका लगायतका सरकारी निकायले नै सडक बनाएका छन्।