सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा बाढीको बितण्डा : एकजना वेपत्ता, दर्जन बढी घर र झोलुङ्गे पुल बगायो

२०७७ साउन २६, ०८:४५ प्रकाश सिंह

बाजुराः आईतबार रातीदेखि परेको अविरल वर्षासँगै आएको बाढीले बाजुरामा ठुलो क्षती गरेको छ।

बुढीगंगा नदीमा आएको बाढीले जिल्लाको बडिमालिका नगरपालिका र गौमुल गाउँपालिकामा ठुलो क्षती पुगेको स्थानीय प्रशासनले जनाएको छ।

क्षतीको यकिन विवरण संकलन नभएपनि प्रारम्भीक जानकारी अनुसार बाढीले बगाउँदा एकजना वेपत्ता भएका छन् भने दर्जन बढि घर र झोलुङ्गे पुल बगाएको बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले जानकारी दिए।  

बुढिगंगा नदीको बाढीले घर बगाउँदा बडिमालिका नगरपालिका दुईका वडा अध्यक्ष डम्मर महतकी ६५ वर्षीय आमा अइसेनी बेपत्ता भएको प्रजिअ गैह्रेले बताए।

उनले बाढीले जिल्लाका घागर, भौनेरा, राप्का लगायतका क्षेत्रमा दर्जन बढि घर बगाएको प्रारम्भीक जानकारी प्राप्त भएपनि क्षतीको विवरण संकलन गर्ने काम भईरहेको जानकारी दिए।

घर भित्र रहेका मानिसहरु भागेर ज्यान जोगाउन सफल भएको बताउँदै प्रजिअ गैह्रैले उनीहरुको उद्दार गरी सुरक्षित स्थानमा व्यवस्थापन गर्न नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन भईसकेको दिनेश खबरलाई बताए।

यस्तै बाढीले साफेँ मार्तडी सडक अन्तरगत बुढिगंगा नदीमाथि बनाएको बेलिबिज्र समेत बाढीले बगाएको छ। बाजुरामा धेरै वर्षपछि बुढिगंगा नदीमा ठुलो बाढी आएको हो।

अहिले पनि वर्षा भईरहेकाले उद्दारमा कठिनाई हुने देखिएको छ। तर उद्दारका लागि हिडेको तीनवटै सुरक्षा निकायको टोली सदरमुकाम नजिकैको सेलाघाटको पहिरोका कारण अगाडी बढ्न नसकेको बताइएको छ। 
 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस