सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनासँग मिल्दो लक्षण देखिएका दुई जनाको मृत्यु

२०७७ साउन २५, ०५:५३ रासस

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक जना अस्पतालका चौकीदार र अर्का नेपाली काँग्रेसका नेता  छन्। 

धनुषाको मिथिला विहारी नगरपालिका–५ घर भएका ४५ वर्षीय पुरुषको एक्कासि ज्वरो र  रुघाखोकीका साथै श्वास फेर्न समस्या भएपछि शनिबार राति उपचारका लागि ल्याउने क्रममा मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए। 

प्रजिअ भट्टराईका अनुसार उनको शव सोही अस्पतालमा राखिएको र स्वाब सङ्कलन गर्ने काम भइरहेको छ।  बिदामा गएका बेला उनी अचानक बिरामी भएका थिए।

त्यसैगरी धनुषाकै शहीद नगरपालिका–८ का ५० वर्षीय नेपाली काँग्रेसका नेताको पनि जनकपुरधामस्थित काव्य अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा मृत्यु भएका उनको पनि स्वाब सङ्कलन गर्ने काम भइरहेको प्रजिअ भट्टराईले बताए। 

धनुषामा यसअघि एक जनाको कोरोना सङ्क्रमित भएर मृत्यु भइसकेको छ। दुई साताअघि शहीद नगरपालिका–८ का ३६ वर्षीय पुरुषको कोरोना सङ्क्रमणले मृत्यु भएको थियो।
 

कमेन्ट लोड गर्नुस