सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाढीले कैलालीको भजनीमा तीन हजार हेक्टर धानखेती नष्ट

२०७७ साउन २३, ०१:२२ दुर्गा देवकोटा

टीकापुर: कैलालीको भजनी नगरपालिकामा बाढीले तीन हजार हेक्टर क्षेत्रफलमा लगाएको धानखेती नष्ट गरेको छ। गत साता आएको बाढीले भजनीमा धानखेती कटानी र पटानी भएर नष्ट भएको छ।

भजनी–८ गोडचौराका गोपीराम चौधरीको धानखेती बाढीले पूर्णरुपमा नष्ट गरेको छ। उनको ढाइ बिघा जमिनमा रोपिएको धानखेती नष्ट भएको हो। बाढीले सबै धानखेती नष्ट भएकाले उहाँको परिवारमा खाद्य सङ्कट आउने गुनासो गर्दै उनले भने, “यही खेतीको भरमा परिवारको पेट भरिन्छ, अब सबै नष्ट भयो। खेतमा धान रोपिएको थियो थिएन पत्तै छैन नहुने अवस्था आयो।”

गोडचौराका धनराज तिमिल्सिनाको पनि एक बिघा जमिन धानखेती पूर्णरुपमा नष्ट भएको छ। “यस वर्ष डेढ बिघा क्षेत्रफलमा धान रोपेका थियौँ। दश कट्ठामा अलिअलि धान बचेको छ । बाँकी सबै नष्ट भयो”, तिमिल्सिनाले भने “घर कसरी चलाउने, गुजारा कसरी गर्ने भन्ने चिन्ता बढेको छ।” भजनी–३ शत्रुधन चौधरीको पाँच कट्ठा क्षेत्रफल धान खेती बाढीले पूर्णरुपमा नष्ट गरेको छ। उनले यस वर्ष सात कट्ठा जमिनमा धानखेती गरेका थिए। बाढीले खेती नष्ट हुँदा उनी पनि चिन्तामा छन्। “यति खेतमा फलेको धानले खान पुग्थ्यो, बाँकी घर खर्च ज्यालादारी गरेर चलाउँथे”, चौधरीले भने, “अब परिवारको पेट कसरी पाल्ने भन्ने चिन्ता बढेको छ।”

उनीजस्तै भजनी नगरपालिका क्षेत्रमा सयौँ किसानका करिब तीन हजार हेक्टरभन्दा बढी क्षेत्रफल धानखेती नष्ट भएको कृषि शाखा भजनीका प्रमुख कमल चौधरीले जानकारी दिए। “बाढी डुबान क्षेत्रमा हप्तासम्म पानी जमेर रहेकाले अधिकांश किसानको धान गलेर नष्ट भएको हो”, कृषि शाखा प्रमुख चौधरीले भने, “कतिपय किसानको खेत पटान र कटानमा परेको छ । अधिकांश खेती पानी जमेर सडेको छ।”

बाढीको डुबानले धानखेती नष्ट भएकाको लगत लिने कार्य आजदेखि सञ्चालन हुने र क्षतिको विवरणका आधारमा नगरपालिकाले राहत सहयोग गर्ने उनले बताए। बाढीका कारण यता टीकापुर नगरपालिका ३, ६, ७ र ९ मा दर्जनौँ बिघा धानखेती नष्ट भएको छ।

बाढीपछि नदी कटान बढेपछि टीकापुर–८ श्रीलङ्कामा नदी कटान तीव्र भएको छ। टीकापुर–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले कर्णाली नदीले दर्जनौँ बिघा धानखेती कटान गरेको बताए। “नगरपालिकाले बाढीबाट कृषितर्फ भएको क्षतिको विवरण सङ्कलन थालेको छ”, ठकुल्लाले भने “विपद् व्यवस्थापन समितिले निर्णय गरेर राहतका कार्यक्रम ल्याउँछौँ।”

दुर्गा देवकोटा दिनेश खवरका टीकापुर संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस