धनगढीमा विद्युत कटौती बढेपछि सेवाग्राही हैरान
धनगढी : धनगढीमा मंगलवारदेखि गर्मी बढेसंगै अनियमित विद्युत कटौती पनि हुन थालेको छ। धनगढी उप–महानगरवासी अहिले विद्युत् कटौतीको सास्ती ब्यहोरिरहेका हुन्। उनीहरूले घण्टौसम्म विद्युत् नआइदिँदा सास्ती हुने गरेको बताएका छन।
‘सधैं गर्मी बढ्नासथ विद्युत् कटौती हुन्छ, अनावश्यक विद्युत् कटौतीले हैरान बनाएको छ,’ धनगढीका ईन्द्र चौधरीले भने, ’यस बर्ष बर्षा भईरहेको दिन पनि विद्युत कटौती भएके थिएन्। तर बर्षा रोकिएपछि गर्मी बढेसंगै अनियमित कटौती हुन थालेको छ।’
कोरोना भाईरसको संक्रमण फैलिन नदिन घर भित्रै बस्नुपर्ने अवस्था भएपनि अनियमित विद्युत कटौतीले गर्दा झनै समस्या भईरहेको धनगढी उप–महानगरवासीको गुनासो छ। विद्युती कटौती मात्र नभएर प्राधिकरणको नो लाईट शाखामा समस्याबारे बुझ्न खोज्दा फोन नउठ्ने तथा नलाग्ने समस्याले पनि नगरबासी हैरान भएका छन्।
धनगढीकै रोशन सुनारले भने, ‘विद्युतको अनियमित कटौतीबारे नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले कुनै सुनवाई नै गरेको छैन्। फोन पनि लाग्दैन्।’
यता, नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले मंगलवार गर्मी बढेपछि केही समस्या आएको स्वीकार गरेका छ। विभिन्न ठाउँका विद्युत लाईनमा समस्या आएको र मर्मत जारी रहेको धनगढी वितरण केन्द्रका प्रमुख सुरेन्द्र चौधरीको भनाई छ।