बैतडीमा ५ बुँदे माग राख्दै सुरु गरिएको अनशन फिर्ता
बैतडी : बैतडीमा ५ बुँदे माग राख्दै सुरु गरिएको अनशन फिर्ता गरिएको छ। मेलौली नगरपालिका–२ को काम कारवाही एकलौटी भएको भन्दै ५ बुँदे मागसहित स्थानीय विवेकानन्द पाण्डेय, योगेश चन्द र नारदप्रसाद भट्ट सलेनास्थित प्रहरी चौकी नजिक अनशन बसेका थिए। वडाले जनताको चाहना विपरीत विभिन्न गतिविधि गरेको, वडाअध्यक्षले मनपरी गर्नुका साथै कसैलाई काखा कसैलाई पाखा गरेको उनीहरुको आरोप थियो।
वडाअध्यक्षको गलत अभिव्यक्ति, विद्युत प्रसारणमा लापरबाही, अनियमितता र योजनाहरुको स्थलगत सार्वजनिक सुनुवाइ, वास्तविक आवश्यकताको आधारमा कुनैपनि योजना छनौट नभएको र योजनाको गुणस्तर अनुगमन हुनुपर्ने भन्दै उनीहरुका ५ वटा माग राखेका थिए। तर स्थानीय जनप्रतिनिधीले उक्त मागहरु सम्बोधन गर्ने जनाएपछि अनशन फिर्ता गरिएको विवेकानन्द पाण्डेयले बताए।
यसअघि पनि सो वडामा विद्युत बिस्तारको माग गर्दै साउन १४ गते वडा कार्यालयमा तालाबन्दी गरिएको थियो। वडामा विद्युत बिस्तारलगायत अन्य माग पटक–पटक राख्दा वडाअध्यक्षले कुनै वास्ता नगरेको उनीहरूको गुनासो छ। आफूहरूले राखेको माग सम्बोधन नभए फेरी अनशन बस्ने पाण्डेयले बताए।