सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा कपडा बैंक स्थापनाको एक वर्ष पूरा, १९ सय बढीलाई कपडा वितरण

२०७७ साउन २०, ०६:३८ खबर संवाददाता

धनगढी: धनगढी कपडा बैंक स्थापना भएको एक वर्ष पूरा भएको छ। उप–महानगरपालिकाको वडा नम्बर ४ शिवपुरी धाममा स्थापना गरिएको कपडा बैंकले एक वर्षको अवधीमा १९ सय बढीलाई कपडा वितरण गरेको जनाएको छ।

एक वर्षको अवधीमा चार सय ६ जनाले बैंकलाई कपडा सहयोग गरेको र एक हजार नौँ सय ५५ जनालाई वितरण गरिएको सम्पर्क व्यक्ति ज्ञानु शाहले बताइन्। एक वर्षको अवधिमा कैलालीको लम्कीमा रहेका बादी समुदाय, धनगढीकै दृष्टि फाउण्डेसन, बझाङका पहिरो पीडितलाई समेत कपडा वितरण गरिएको शाहले बताइन्।

बैंकमार्फत प्रयोग गर्न मिल्ने कपडा, शिरक, डसना, तन्ना, जुत्ताचप्पल, भाडा लगायतका मानव जिवनमा प्रयोगमा आउने सामग्री संकलन र निःशुल्क वितरण भइरहेको छ। बाढी, पहिरो, आगलागी लगायतका प्राकृतिक प्रकोपबाट पिडितलाई पनि बैंक सञ्चालन भएपछि सहयोग भइरहेको छ।

उक्त कपडा बैंक धनगढीका व्यवसायीहरु गोपाल हमाल, श्याम हमाल र देवेन्द्र हमालले झण्डै १५ लाखको लगानीमा स्थापना गरेका थिए। कपडा बैंकका सञ्चालक गोपाल हमालले एक वर्षसम्म कपडा बैंकलाई कपडा दान गर्ने र आवश्यकता महसुस गरेर कपडा लैजाने सम्पूर्णलाई धन्यवाद दिएका छन्। उनले कपडा संकलन र निःशुल्क वितरणको अभियान जारी रहने बताए।

कमेन्ट लोड गर्नुस