सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा ५ बुँदे माग राख्दै तीन जना अनशन बसे

२०७७ साउन २०, ०५:०८ खबर संवाददाता

बैतडी: बैतडीको मेलौली नगरपालिकामा तीन जना स्थानीय युवा आमरण अनशन बसेका छन्। मेलौली नगरपालिका–२ को काम कारवाही एकलौटी भएको भन्दै ५ बुँदे मागसहित स्थानीय विवेकानन्द पाण्डेय, योगेश चन्द र नारदप्रसाद भट्ट सलेनास्थित प्रहरी चौकी नजिक अनशन बसेका हुन्।

वडाले जनताको चाहना विपरीत विभिन्न गतिविधि गरेको, वडाअध्यक्षले मनपरी गर्नुका साथै कसैलाई काखा कसैलाई पाखा गरेको उनीहरुको आरोप छ। वडाअध्यक्षको गलत अभिव्यक्ति, विद्युत प्रसारणमा लापरबाही, अनियमितता र योजनाहरुको स्थलगत सार्वजनिक सुनुवाइ, वास्तविक आवश्यकताको आधारमा कुनैपनि योजना छनौट नभएको र योजनाको गुणस्तर अनुगमन हुनुपर्ने भन्दै उनीहरुका ५ वटा माग रहेका छन्। 

यसअघि पनि सो वडामा विद्युत बिस्तारको माग गर्दै साउन १४ गते वडा कार्यालयमा तालाबन्दी गरिएको थियो। सोमबार लगाएको ताला बिना जानकारी नै प्रहरीको रहोवरमा वडाअध्यक्षले तोडेको अनशन बसेका नारदप्रसाद भट्टले बताए। वडाअध्यक्षले ‘बाउको छोरो होस् भने फेरी ताला लगाएर देखा’ भनेर अपशब्द भाषा प्रयोग गर्दै गाली गलौचसहित धम्की दिएकोले अनशन बसेको भट्टको भनाइ छ।

वडामा विद्युत बिस्तारलगायत अन्य माग पटक–पटक राख्दा वडाअध्यक्षले कुनै वास्ता नगरेको उनीहरूको गुनासो छ। आफूहरूले राखेको माग सम्बोधन नभएसम्म अनशन जारी राख्ने उनीहरुले बताए। 

कमेन्ट लोड गर्नुस