सुदूर नेपाललाई विश्वसँग जोड्दै

छेला औद्योगिक क्षेत्र सञ्चालनको बाटो खुल्यो

२०७७ साउन १९, ०७:५२ रासस

कञ्चनपुर: बेदकोट नगरपालिकाको छेलास्थित औद्योगिक क्षेत्र सञ्चालनको बाटो खुलेको छ। वन तथा वातावरण मन्त्रालयले औद्योगिक क्षेत्रको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृत गरेको हो।

वन तथा वातावरण मन्त्रालयले रूख काट्न अनुमति नदिँदा छेला औद्योगिक क्षेत्रको सञ्चालन कार्य अवरुद्ध थियो। सरकारले पछिल्लो पटक सूदूरपश्चिम प्रदेश औद्योगिक क्षेत्र घोषणा गरेको यो क्षेत्रलाई २०५१ सालमा औद्योगिक क्षेत्र बनाउने घोषणा गरेको थियो। औद्योगिक क्षेत्रमा पर्ने सामुदायिक र राष्ट्रिय वन क्षेत्रका कारण अढाइ दशकसम्म छेला औद्योगिक क्षेत्र अन्योलमा रहेको थियो।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुको आग्रहमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले यसलाई प्राथमिकता दिएर सञ्चालनको बाटो खोलिदिएका छन्। यसअघिका वनमन्त्रीले रूख कटानीको समस्या देखाउँदा औद्योगिक क्षेत्र सञ्चालन अन्यौलमा थियो।

क्षेत्र नं २ का सांसद नरबहादुर धामीले वन तथा वातावरण मन्त्रालयबाट इआइए प्रतिवेदन स्वीकृत भएपछि वर्षौैंदेखिको औद्योगिक क्षेत्रको सपना सार्थक हुने अवस्थामा पुगेको बताए। “यो मेरो चुनावी एजेन्डा मात्रै थिएन, त्यस क्षेत्रका सुदूरपश्चिम क्षेत्रका जनताको वर्षौंदेखिको माग थियो”, उनले भने, “सत्तारूढ नेकपाको सरकारले जनताको त्यो माग सार्थक बनाएको छ, त्यसका लागि सरकारलाई धन्यवाद दिन चाहन्छु।” उनले औद्योगिक क्षेत्र सञ्चालन भएपछि सुदूरपश्चिम क्षेत्रको आर्थिक विकासलाई टेवा पुग्ने बताए। “उद्योगधन्दा चल्छन्, रोजागरी सिर्जना हुन्छ, उनले भने “सुदूरपश्चिम समृद्धि हुन्छ।”

सत्तारूढ नेकपाका नेता लेखराज भट्ट यसअघि उद्योगमन्त्री भएका बेलामा छेला औद्योगिक क्षेत्र सञ्चालन प्रक्रिया अघि बढेको हो। सत्तारूढ नेकपाकै नेता दामोदर भण्डारी अर्थ राज्यमन्त्री भएका बेलामा यसलाई प्रदेशको औद्योगिक क्षेत्र घोषणा गरिएको थियो।

तत्कालीन दैजी गाविसका उपाध्यक्ष हिक्मतबहादुर सिंहले वन मन्त्रालयका कारण लामो समयदेखि रोकिएकाले अब सञ्चालनमा आउने बताए। नेपाल औद्योगिक विकास लिमिटेडले बनाउन लागेको यो योजनामा झण्डै छ अर्ब ५० करोड खर्च अनुमान गरिएको छ।

सरकारले यस वर्षको बजेटमा औद्योगिक क्षेत्र सञ्चालनका लागि बजेट विनियोजन गरेको छ। यो औद्योगिक क्षेत्र २९३ बिघामा स्थापना हुन लागेको हो। बेदकोट नगरपालिकाका प्रमुख अशोक चन्दले औद्योगिक क्षेत्रको कार्य अगाडि बढ्ने भएपछि खुशी भएको बताए।
 

कमेन्ट लोड गर्नुस