कैलालीमा बिरुवालाई रक्षाबन्धन
टीकापुर : मानिसमात्र होइन बोट बिरुवाको पनि रक्षा गर्नुपर्छ भन्दै कैलालीको टीकापुरस्थित योगाश्रममा योग साधकले बिरुवालाई रक्षाबन्धन गरेका छन्। योगाश्रममा रहेका जडीबुटी प्रजातिका बिरुवाको संरक्षणको सन्देश दिन उनीहरुले त्यस्तो गरेका हुन्।
“रक्षा मानिसको मात्र होइन बोट बिरुवाको पनि गर्न जरुरी छ भन्ने सन्देश दिन रक्षाबन्धन गरेका हौँ”, योग प्रशिक्षक पृथ्वी रावलले भने, “प्रकृतिको रक्षा गर्नतर्फ ध्यान दिएनौँ भने भविष्यमा सङ्कट आउने निश्चित हो।”
योग साधकले यस्ता चाडपर्वमा हरेक नागरिकले वृक्षरोपण, सरसफाइ जस्ता काम गरेमा वातावरण संरक्षणमा योगदान पुग्ने भएकाले साधकलाई यस्ता कार्यमा लाग्न आग्रह गरिएको योग प्रशिक्षक मुक्तिनाथ रेग्मीले बताए।
“हामीले योग साधकलाई आवश्यक जडीबुटी रोप्न, तरकारीखेती गर्न प्रोत्साहन गर्ने गरेका छौँ”, रेग्मीले भने, “आजको कार्यक्रम त सन्देश दिनका लागि गरिएको हो।”
साथै टीकापुरस्थित सनातन हिन्दू प्रतिष्ठानले शुक्ल पूर्णिमाको दिन पारेर नदीमा स्नान गर्ने कार्यक्रमको आयोजना ग¥यो।
प्रतिष्ठानको आयोजनामा कर्णाली नदीमा स्नान कार्यक्रम गरिएको प्रष्ठिानका अध्यक्ष नारायण तिमिल्सेनाले बताए। प्रतिष्ठानले विगत तीन वर्षदेखि सो कार्यक्रम गर्दै आएको छ।