सुदूर नेपाललाई विश्वसँग जोड्दै

म राजा हुँ भन्दै बझाङका गाउँपालिका अध्यक्षद्वारा वृद्धमाथि दुर्व्यवहार(भिडियोसहित)

२०७७ साउन १८, ०७:१० डीवि विष्ट

बझाङ: पटकपटक आफ्नो पदिय मर्यादा विपरीत काम गरेर विभिन्न घटनामा मुछिदै आएका बझाङको मष्टा गाउँपालिकाका अध्यक्षले फेरी एक वृद्धमाथि दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको छ। अध्यक्ष कर्णबहादुर कठायतले केहि दिनअघि मदिराको मातमा सोही गाउँपालिका –२ घर भएका ७५ वर्षीया पिरु रोकायामाथि बाटोको विषयलाई लिएर सार्वजनिक रुपमै दुर्व्यवहार गरेका छन्। 

अध्यक्ष कठायतले सार्वजनिक रुपमा मदिरा सेवनगरी वृृद्घमाथि दुर्व्यवहार गरेको भिडियो सामाजिक सन्जालमा भाइरल भएपछि अध्यक्ष कठायतको चर्को आलोचना भइरहेको छ।   

गाउँपालिकाका अध्यक्ष कठायतले पिरु रोकायाको बाडेगाउँमा रहेको देउपाटो भन्ने स्थानमा रहेको जग्गामा खेलकुद मैदान बनाउन खोजेका थिए। भने,  वृृद्ध रोकायाले आफ्नो दर्ता भएको जग्गामा जानकारीबिना  खेलमैदान बनाउन खोजेको भन्दै असहमती जनाएका थिए। उनको असहमति भएपछि गाउँपालिकाका अध्यक्ष कठायतले मदिरा सेवन गरी वृृद्ध रोकायालाई गालीगलौज गरी हातपात गर्न तयार भएपछि स्थानीयहरुले गाउँपालिकाका अध्यक्षलाई रोकेका थिए। ‘गोलघरमा केही स्थानीयहरु बसेका थियौं। अध्यक्ष ज्यूले एक्कासी आएर पिरु रोकायालाई गालीगलौज र र्दुव्यवहार गरेको देख्दा हामीलाई दुखलाग्यो’ घटनाका प्रत्यक्षदर्शी कलक रोकायाले भने।  

अहिले सामाजिक संजालमा भाइरल भएको भिडियोमा गरेको कुराकानी सुन्दा अध्यक्ष कठायतले आफ्नो पदिय हैसियतको दुरुपयोग गरी घमण्डी र पाखण्डी स्वभाव देखाएको प्रष्ट देखिन्छ। यस्तै अध्यक्ष कठायतले  अभद्र शब्द प्रयोग गर्नुका साथै  वृद्घमाथि हातपातको प्रयास गरेको र स्थानीयले रोकेको भिडियोमा स्पष्ट देख्न सकिन्छ। भिडियोमा उनले, ‘म राजा हुँ, म तेरो बाउँ हुँ, मु... लगायतका अपशब्द बोलेको सुन्न सकिन्छ। 

घटनापछि पिरुका छोरा हरिचन्द्र रोकायाले गाउँपालिकाका अध्यक्षले आफ्नो बुवाप्रति गरेको व्यवहार गैरकानुनी भएकाले सम्बन्धीत निकायले यसको छानविन गर्नुपर्ने बताएका छन्।  

उता गाउँपालिका अध्यक्ष कर्णबहादुर कठायतले भने गाउँमा रहेको देउपाटो गुठी जग्गालाई पिरु रोकायाले लुकिछिपी दर्ता गरेको र त्यस जग्गामा खेल मैदान बनाउने विषयमा केही विवाद भएको बताए। 

यसअघि पनि अध्यक्ष कठायतलाई गाउँपालिकाको गाडीमा मदिरा सेवन गरेको, आर्थिक अनियमितता गरेको भन्दै कालोमोसो दलिएको थियो। 

नेकपाले सोध्यो स्पष्टीकरण 
साही विषयलाई लिएर आइतबार नेपाल कम्युनिस्ट पाटी जिल्ला कमिटी बझाङले अध्यक्ष कठायतलाई पाँच दिनभित्र स्पष्टीकरण पठाउन भनेको छ। एक विज्ञप्ती सार्वजनिक गर्दै जिल्ला कमिटीले उक्त घटनामा ध्यानाकर्षण भएको भन्दै पार्टीको भदौ ३ गते बस्ने सचिवालयको बैठकबाट कारवाही गरिने जनाएको हो। 

नेविसंघको आपत्ति
यसैबिच सोही घटनाको विषयलाई लिएर नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले आपत्ति जनाएको छ। आइतबार प्रेस विज्ञप्ती जारी गर्दै नेविसंघले अध्यक्ष कठायतले गरेको व्यवहारका विरुद्घ आन्दोलनमा उत्रने बताएको छ। 

नेविसंघ मष्टा गाउँपालिका अध्यक्ष बिनोद कठायतद्वारा हस्ताक्षरित विज्ञप्तीमार्फत जाडरक्सी खाएर गालीगलौज गर्ने, वृद्घ तथा विद्यार्थीलाई गालीगालौज गर्ने, धम्क्याउने हैकमबादी र समान्तबादी सोच भएका विरुद्घ संर्घषमा उत्रिने चेतावनी समेत दिइएको छ। 

नेविसंघले यही साउन २० गते गाउँपालिका अध्यक्षको रवैया विरुद्ध विरोध र्याली निकाल्ने अध्यक्ष बिनोद कठायतले बताए। 

 

डीवि विष्ट दिनेश एफएमका बझाङ संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस