सुदूर नेपाललाई विश्वसँग जोड्दै

छैन कैलालीका अधिकांश कार्यालयमा स्तनपानकक्ष

२०७७ साउन १८, १०:३३ दुर्गा देवकोटा

टीकापुर : टीकापुर नगरपालिकामा कार्यरत कार्यालय सहयोगी राधा चौधरीको डेढ वर्षको बच्चा छ। उनी सुत्केरी भएपछि दुई महिना बिदामा बसिन्।

तीन महिनादेखि उनले बच्चा लिएर कार्यालयमा हाजिर छन। “म कार्यालयको पछाडिपट्टिको बरण्डामा घरबाट ल्याएको खाटमा बच्चा राख्थेँ, खुला ठाउँ गर्मीमा घाम, दिउँदमा सिरेटो, अनि लामखुट्टेले टोक्थे”, उनले सम्झिन, “बच्चा हेरालु भए पनि खुला ठाउँमा दूध चुसाउन अप्ठ्यारो लाग्थ्यो। कहिलेकाहीँ दूध चुसाइरहेको समयमा मानिस आए बच्चालाई पेटभरि दूध खुवाउँदैनथेँ।”

तर आजभोलि चौधरीलाई ढुक्क छ। बच्चाले घरमाजस्तै श्ययामा सुतेर दूध चुस्न पाएको छ। निदाउँदा झुलुङ्गामा सुत्छ। “बच्चालाई आराम भएको छ। मलाई पनि आनन्द भएको छ”, उनले भनिन्, “हरेक कार्यालयमा यस्तो सुविधा होस, महिला कर्मचारीका समस्याबारे ध्यान दिइयोस।”
राधामात्र होइन स्तनपानकक्ष स्थापनापछि सेवा लिन आउने महिलालाई राहत भएको छ। टीकापुर–३ शङ्करपुरकी सुरक्षा विकले छोरी जन्माइन्। उनी छोरीको जन्मदर्ता गर्न र हाम्री छोरी प्यारी छोरी कार्यक्रममा खाता खोल्नका लागि नगरपालिका आइन्। “म नगरपालिका झण्डै चार घण्टा बसेँ, मलाई छोरीलाई दूध कसरी चुसाउने भन्ने तनाव थियो”, सुरक्षाले भनिन्, “स्तनपानकक्ष रहेछ। तीन महिनाकी छोरी दूध चुसाएपछि निदाइन, मैले सबै काम भ्याएँ, खुशी लाग्यो।” 

कैलालीको टीकापुर नगरपालिका कार्यालयमा स्तनपानकक्ष सञ्चालनमा आएपछि उनीहरुलाई स्तनपान गराउन सहज भएको हो। नगरपालिकाले महिला कर्मचारी र कार्यालयमा सेवा लिन आउने महिला सेवाग्राहीलाई स्तनपानका लागि  सहज बनाउन गत असार महिनामा सो कक्षको निर्माण गरेको थियो । स्तनपानकक्षमा शिशुलाई सुताउन मिल्ने श्यया,  खेलाउने झुलुङ्गा र केही खेलौना राखिएका छन्। 

सरकारले सबै सरकारी कायालयलाई महिलामैत्री बनाउन स्तनपानकक्ष स्थापना गर्न निर्देशन दिएको छ। तर कैलालीका अधिकांश कार्यालयमा स्तनपानकक्ष छैन्। अब कार्यालयमा आउने सेवाग्राही महिला पनि बच्चा बोकेर आए अब स्तनपान गराउन सहज वातावरण तयार भएको छ। “आमा र शिशु दुवैका लागि स्तनपान महत्वपूर्ण हुन्छ। आमाको दूध शिशुका लागि अमृत समान हुने भएकाले स्तनपानकक्ष निर्माण गरेको टीकापुर नगरपालिका जनस्वास्थ्य प्रवद्र्धन उपशाखाका सिनियर अनमी हेमा ज्ञवाली बताईन्।, “स्तनपान गर्ने बच्चा र गराउने आमा दुवैको स्वास्थ्य राम्रो हुन्छ। बच्चा जन्मिएपछि छ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्छ तर काममा हिँड्नुपर्ने, कामकाजी आमाका लागि हरेक कार्यालयमा स्तनपान गराउने वातावरण आवश्यक छ।”

स्नतपानको महत्व बुझाउन नगरपालिकाले स्तनपान सप्ताहसमेत शुरु गरेको छ। “छ महिना पूरा भएपछि आमाको दूधका साथसाथै थप पोषिलो आहार खुवाउन आवश्यक हुन्छ, कम्तीमा दुई वर्षसम्म आमाको दूधलाई निरन्तरता दिँदै थप आहार खुवाउनुपर्छ भनी बस्तीस्तरमा सिकाउन थालेका छौँ”, उनले भनिन्, “अबको एक साता स्तनपानबारे छलफल थालेका छौँ।”
 

दुर्गा देवकोटा दिनेश खवरका टीकापुर संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस