सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको त्रिनगर नाकामा प्रहरीलाई पाँच हजार तिरेर नेपाल आउँदै भारतीय !

२०७७ साउन १७, ०१:४१ खबर संवाददाता

धनगढीः सरकारले कोरोना भाईरसको संक्रमण थप फैलिन नदिन झण्डै चार महिनादेखि  अन्तराष्ट्रिय सीमानाका बन्द गरेको छ। गत चैत १० गतेदेखि अन्तराष्ट्रिय सीमा नाका बन्द गरेको थियो। पछिल्लो पटक मन्त्रीपरिषद् बैठकले साउन ३२ गते सम्म सीमा नाका बन्द राख्ने निर्णय गरेको थियो।

सीमा नाका बन्द भएपनि भारतमा कोरोना महामारीपछि विचल्लीमा परेका हजारौँ नेपालीको सरकारले उद्दार गरेको थियो। र अहिले पनि उक्त क्रम जारी राखिएको छ। भारतबाट आउनेहरुले अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने नियम बनाईएको छ।

तर कैलालीमा भने सुरक्षा निकायकै संरक्षणमा सीमा नाकाबाट धमाधम भारतीय नागरिक नेपाल भित्रिएर क्वारेन्टिन नबसेरै पेशा व्यवसाय गर्न थालेपछि जोखिम बढेको छ। सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा विभिन्न उद्योग, ग्यारेज, वर्कसप तथा कपाल पसलमा काम गर्दै आएका भारतीय नागरिकबाट रकम असुलेर परीक्षण बिना भित्र्याईन लागेको हो।

भारतको पलिया घर भई धनगढीको एउटा ग्यारेजमा काम गर्दै आएका एकजना भारतीय नागरिकले सीमामा खटिएका प्रहरी र सशस्त्र प्रहरीलाई पाँच हजार तिरेर नेपाल फर्किएको बताए। ‘पहिले क्वारेन्टिनमा बस्छु भन्दा पनि सीमानाकाबाट प्रहरीले आउन दिएनन्। रुपैँया दियो भने मात्र जान पाईन्छ भन्ने सुने।’ नाम उल्लेख नगर्ने शर्तमा उनले भने, ‘सीमामा खटिएका प्रहरी र सशस्त्र प्रहरीलाई पाँच हजार तिरेपछि सहजै धनगढी आउन दिए। अरु पनि यसरी नै आईरहेका छन्।’

ती युवकले पैँसा तिरेर त्रिनगर नाका भएर धनगढी फर्किएको बताएका छन्। लकडाउनमा ग्यारेज तथा वर्कसप बन्द भएपछि भारत फर्किएका उनीहरु खुलेसँगै फर्किरहेका हुन्। यसरी प्रहरीले नै रकम असुलेर भारतीय नागरिकलाई प्रवेश गराउन थालेपछि कोरोना भाईरसको जोखिम बढेको छ।

भारतबाट फर्किने जोकोहीलाई पनि अनिवार्य क्वारेन्टिनमा राखेर कोरोना परीक्षण गर्नुपर्ने बेला कैलालीमा भने प्रहरी नै रकम असुल्नमा व्यस्त भएपछि जोखिम बढेको हो।

सीमामा रकम असुली गरी प्रवेश गर्न दिएको विषयमा प्रतिक्रिया लिन कैलालीका प्रमुख प्रहरी उपरिक्षक अनुपम शमशेर जबरालाई सम्पर्क गर्दा उनी सम्पर्कमा आएनन्। तर प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले अहिले सीमानाका बन्द भएकाले नेपाल प्रवेश गर्न नदिईएको बताए।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले रकम असुली गरेर प्रवेश दिएको विषयमा बुझेर आवश्यक निर्देशन दिने प्रजिअ बोहोराले बताए।     
 

कमेन्ट लोड गर्नुस