कैलालीमा बाढीमा बेपत्ता दुई जना अझै भेटिएनन
धनगढी : कैलालीमै बाढीमा परी वेपत्ता भएका दुई जनाको खोजी जारी छ। बाढीमा बगेका कैलालीका तीनजनाको सकुशल उद्धार गरिएको थियो भने एक जनाको शव फेला परेको छ। बाँकी दुई जना अझै बेपत्ता छन्।
कैलालीको भजनी नगरपालिका–८ खौरपुरका ४० वर्षीय ईश्वर शाह र ३३ वर्षीय चक्र विक अझै वेपत्ता छन्। उनीहरुको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए।
भजनी नगरपालिकाको जनकपुरका ११ बर्षीय स्केल चौधरीको भने शव भेटिएको छ। पथरैया र कान्द्रा नदीको बाढी गाउँमा पसेपछि उनीहरू बगेका थिए।
बुधबार दिउँसो खोलामा बगेर बेपत्ता भएका भजनी–८ कै ४० बर्षीय बलराम चौधरीको उद्धार गरिएको थियो। त्यस्तै, सोही वडाकी बिक्की शाही र हेमन्त शाहीलाई पनि प्रहरीको टोलीले सकुशल उद्धार गरेको थियो।