सुदूर नेपाललाई विश्वसँग जोड्दै

श्रीमान भूमिगत हुँदा आत्महत्या गर्न खोजेकी महिलाको धनगढीमा मःम उद्योग

२०७७ साउन १५, ०२:१९ कमल सावद

धनगढी: डोटीको जोरायल गाउँपालिका वडा नम्बर ३ का छविलाल ओली पूर्व शिक्षक हुन्। उनले जोरायलको शिवपुर माध्यामिक विद्यालयमा अध्यापन गराए। २०६० सालमा उनलाई तत्कालीन माओवादीले आफ्नो अभियानमा लग्यो। तीन महिनाका लागि अभियानमा गएका ओली भूमिगत भए। 

उनकी श्रीमती प्रेमालाई सो बारेमा जानकारी थिएन्। तीन महिनाका लागि माओवादी अभियाना गएका छविलाल भूमिगत भएपछि विद्यालय गएनन्। अस्थायी शिक्षकको जागीर भूमिगत राजनीति जिवनले खोस्यो। माओवादीमा आवद्ध भएपछि उनी चार वर्ष भूमिगत रहे। छविलाल भूमिगत भएपछि श्रीमती प्रेमालाई सबैभन्दा बढि समस्या भयो। तीन छोराकी आमा प्रेमालाई उनीहरुको पालनपोषणमा सबैभन्दा बढि सास्ती थियो। 

उनले २०६० देखि २०६४ का चार वर्ष ठुलो कष्ट भोगे। उनको २०६१ सालमा त छोराहरुलाई साझ–बिहानको खाना खुवाउन सक्ने अवस्था समेत थिएन्। उनलाई छोराहरुलाई भोकै सुताएको हिजो जस्तै लाग्छ। ‘चार वर्षको अवधिको दुःखको त सीमा नै छैन्। भनौ भने चार दिन लाग्छ होला,’ प्रेमाले भनिन्, ‘अहिले सम्झियो भने पनि रुन मन लाग्छ। साह्रै पीडामा थिए।’

श्रीमान माओवादीमा भूमिगत भएपछि उनको परिवारले पनि सहयोग गरेन्। माइतीबाट पनि सहयोग भएन्। श्रीमान माओवादी भएपछि अन्य गाउँबाट पनि सहयोग भएन्। झनै उनले दुःख पाईन्। खानेपानीको योजनाका लागि तार जाली बोकिन्। दुई छाक टार्नकै लागि हलो जोतिन्। दिनमा छिमेकीले देख्ने डर थियो। जुनेली रातमा हलो जोतिन्। 

उनी भन्छिन् ‘श्रीमान चार/पाँच महिनामा एक पटक आउनु हुन्थो। कति दिन बस्ने कुनै ठेगान थिएन्। मन पोलेर आउथ्यो।’ सोही समयमा उनको मनमा आत्महत्या गर्ने सोच आउथ्यो। कती पटक त उनले आत्महत्या गर्ने प्रयास पनि गरिन्। तर छोराहरुका लागि पनि बाच्नुपर्छ भन्ने लाग्यो र उनी आत्महत्याको निर्णयबाट पछि हटिन्। शान्ती सम्झौता पछि भने उनका दिनहरु बिस्तारै फेरिदै गए। श्रीमान पनि घर आए। छोराहरु पनि ठूला भए। उनीहरु पहिलेको जस्तै संगै भए। तर श्रीमानको शिक्षक पेशा भने रहेन्। श्रीमान माओवादी पार्टीबाट राजनीतिमा सक्रिय भए। उनले व्यापार सुरु गरिन्। 

गाउँबाट कुखुरा खरिद गर्दै भीमदत्त राजमार्गमा पर्ने डोटीको गैरा लगिन्। सो समयमा गाउँमा कुखुराको मुल्य एक सय ४० रुपैया प्रति किलो थियो। जोरायल गाउँपालिका वडा नम्बर ३ को गडाखर्कबाट चार घण्टा पैदल हिड्दै उनी गैरा बजार पुग्थिन्। एक सय ४० मा खरिद गरिएको कुखुरा उनले एक सय ६० प्रतिकिलोमा बिक्रि गर्न सुरु गरिन्। एक किलोबाट २० रुपैयाँ नाफा हुन्थ्यो। धेरै कुखुरा लिएको दिन उनको कमाई पनि धेरै हुन्थ्यो। यो बेला सम्म उनले खेती गर्न छोडी सकेकी थिईन्। 

उनले कुखुराको व्यापारसंगै अन्य व्यवसाय गर्ने योजना बनाईन्। श्रीमानसंग मिलेर डोटीको राजपुरमा रहेको शहिद स्मृती विद्यालयमा क्वान्टिन सञ्चालन गरिन्। क्यान्टिनपछि उनले राजपुरमा होटल सञ्चालन गरिन्। डोटीको राजपुरमा १० वर्ष होटल सञ्चालन गरेको उनीहरु बताउँछन्। डोटीको होटल बिक्रि गरेर उनीहरुले धनगढी उप–महानगरपालिका वडा नम्बर ३ मा वाह मःम उद्योग सञ्चालन गरेका छन्। राजपुरमा उनीहरुले ३० लाखको लगानीमा वाह मःम उद्योग सञ्चालन गरेका छन्। खडक चन्द, राजन  खड्का र छविलाल ओलीले संयुक्त रुपमा मःम उद्योग सञ्चालन गरेका हुन्। 

उनका श्रीमान छविलाल ओली उद्योगमा पनि सघाउँदैछन्। बजार सम्म पनि उत्पादित मःम पुर्याउदैछन्। छविलाल ओलीले यूवटुवमा मःम को तयारी बारेमा हेरेपछि उद्योग सञ्चालन गरिएको बताए। सुदूरपश्चिम प्रदेशको राजधानी पनि कैलालीमा भएकाले धनगढीमा उद्योग सञ्चालन गरेको छविलालले बताए।

मंसिरदेखि उद्योग सञ्चालनको तयारीमा रहेपनि समय लागेको उनले बताए। बजारमा मःमको माग धेरै भएपनि अहिले धेरै आपूर्ति गर्न सक्ने अवस्था नभएको उनले सुनाए। प्रत्येकको घर–घरमा मःम पुर्याउन उनको योजना छ। अहिले चिकेन मःम मात्र बजारमा आएको छ। स्थानीय उत्पादन कोदो, जौँ र फापरको मःम पनि उत्पादन गर्ने योजनामा उनीहरु छन्। ‘अहिले चिकेन मःम मात्र बजारमा ल्याएका छौ। मेसिनको पनि अभाव छ। बिस्तारै मेसिन थप्छौ। कोदो, जौँ र फापरको मःम पनि बजारमा लैजाने तयारीमा छौ।’ उनले भने।

मःम उद्योगका लागि उनीहरुलाई कतैबाट अनुदान छैन्। मःम सञ्चालनका लागि डोटीमा रहेको होटल बिक्रि गरिएको छ। खड्का र चन्दले पनि बैँकबाट ऋण लिएका छन्। उनीहरु काम आफै गर्छन्। दुई जना प्राविधिक बाहेक सबै काम आफैले गर्दै आएका छन्। एक जना मेसिन अपरेटर र एक जना कुक मात्र उद्योगमा छन्। उद्योगको मेसिनको प्रति घण्टा तीन हजार मःम उत्पादन गर्ने क्षमता छ। 

तर उनीहरुले दुई घण्टा मात्र उद्योग सञ्चालन गर्दै आएका छन्। बाँकी समयमा उनीहरुले मःमका लागि कच्चा पदार्थ निर्माण समय खर्च गर्दै आएका छन्। मेसिनका लागि आवश्यक पर्ने कच्चा पर्दाथ निर्माण गर्न नै उनीहरुलाई बढि समय लाग्दै आएको छ। प्याज, मसला, किमा, मैदा तयार गर्दा बढि समय खर्च हुने गरेको छ। 

छविलालले राजनीतिमा पनि सकृय छन्। छविलाल वि.स २०७४ को स्थानीय तहको निर्वाचनमा जोरायल गाउँपालिकाको अध्यक्षका प्रत्यासी हुन्। उनी अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश सदस्य तथा डोटी जिल्ला सचिवालय सदस्य छन्। ४० वर्षका छविलाललाई नयाँ काम गर्नु छ। मःम उद्योग सञ्चालन पछि उनीहरु उद्योगी भएका छन्। दिनहरु फेरिएका छन्। अरुलाई काम दिन सक्ने हैसियत भएको छ।

भिडियो : आरजु

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस