सुदूर नेपाललाई विश्वसँग जोड्दै

युभेन्टसको लज्जास्पद हार

२०७७ साउन १५, ०५:४६

एजेन्सी – यो सिजनको इटालियन सिरी ‘ए’ च्याम्पियन बनेको युभेन्टसले लिग चरणको ३७औं खेलमा लज्जास्पद हार बेहोरेको छ । 

बुधबार राति भएको खेलमा युभेन्टस घरेलु टोली काग्लिएरीसँग २–० ले पराजित भएको हो । युभेन्टसलाई हार चखाउन लुका गाग्लिएनो र जियोभानी सिमिओनले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो ।

काग्लिएरीमा भएको खेलमा घरेलु टोलीले खेलको आठौं मिनेटमा लुका गाग्लिएनोको गोलबाट अग्रता बनाएको थियो । उनले फेडरिको माटिइलोको पासमा गोल गरेका थिए । त्यसअघि खेलको पाँचौ मिनेटमा युभेन्टसका क्रिस्टियानो रोनाल्डोको प्रहारलाई काग्लिएरीका गोलरक्षक एलेसियो क्राग्नोले विफल पारेका थिए ।

४०औं मिनेटमा जुआन कोर्डाडोको प्रहार पोस्टबाट थोरै बाहिरिदा युभेन्टस अग्रता लिनबाट चुकेको थियो । ४४औं मिनेटमा युभेन्टसले बराबरीको अर्काे अवसर खेर फाल्यो । पहिलो हाफको इन्ज्युरी समयमा जियोभानीले गोल गर्दै काग्लिएरीको अग्रता दोब्बर पारे । उनले पहिलो गोल गरेका लुकाको पासमा गोल गर्न सफल भएका थिए । लगत्तै रोनल्डोको फ्रिकिकमा मिरालेम प्यानिचको प्रहारले पोस्टको दिशा लिन नसक्दा युभेन्टसले अग्रता घटाउने अवसर गुमाएको थियो।

२–० ले पछि परेको युभेन्टसले दोस्रो हाफमा घरेलु टोलीलाई लगातार दवावमा राखेपनि गोलरक्षक क्राग्नो बाधक बने । ५४औं मिनेटमा सिमिओन मुराटोरको प्रहारलाई बचाएका क्राग्नोले ५५औं मिनेटमा एलेक्स सान्द्रोको उत्कृष्ट हेडरलाई उत्तिकै राम्रो बचाउ गरेका थिए । ७१औं मिनेटमा जियोभानीले गोल गर्ने अवसर गुमाए । त्यसपछि थप गोल निस्कन नसक्दा युभेन्टस स्तब्ध बन्न पुग्यो ।

यो हारले च्याम्पियन बनिसकेको युभेन्टसलाई अंक तालिकामा कुनै असर परेन । च्याम्पियन युभेन्टसको ३७ खेलबाट ८३ अंक रहेको छ । युभेन्टसलाई हराएको काग्लिएरी ४५ अंक जोडेर १३औं स्थनमा छ ।

कमेन्ट लोड गर्नुस