डोटीमा ‘फर्जी’ योजना बनाएर गाउँपालिकाले भुक्तानी गरेको १० लाख विरोधपछि फिर्ता
डोटी: पूर्वीचौकी गाउँपालिकाले ‘दलितहरुको स्तर अभिवृद्धि कार्यक्रम’ मा ‘फर्जी’ योजना बनाएर भुक्तानी गरेको झण्डै १० लाख रकम फिर्ता लिएको छ।
गाउँपालिकामा उपभोक्ता समिति गठनदेखि क्वारेन्टीनमा बसेका दलितहरुलाई सामाग्री वितरणसम्मका फर्जी कागजात तयार गरेर १० लाख रकम भुक्तानी दिएकोमा स्थानीयको विरोधपछि रकम फिर्ता मागेको हो। गाउँपालिकाले आज विज्ञप्ती जारी गर्दै उपभोक्ता समितिका अध्यक्ष साजेन्द्र कोलीले उक्त रकम गाउँपालिकाको सञ्चित कोषमा जम्मा गरेको जानकारी दिएको छ।
उपभोक्ता समितिले सामाग्री वितरण गरिएका भर्पाईहरु समेत ‘फर्जी’ खडा गरी भुक्तानी लिएको थियो। भपाईहरुमा क्वारेन्टीनमा बसेका दुईसय ५० जना दलितहरुलाई जनही एक/एक वटा त्रिपाल, डसना र पी–फम(म्याट) सहीत खाजा खर्चबाफत पाँचसयका दरले रकम वितरण गरेको उल्लेख छ। वडाध्यक्षहरुले भने आफ्नो वडा क्षेत्रमा रहेका क्वारेन्टीनमा दलित क्षमता विकास उपभोक्ता समितिका नामले कुनै व्यक्ती वा संस्थाबाट यस्ता सामाग्री वितरण नगरेको बताएका थिए। उपभोक्ता समितिले सामाग्री खरिद गरेको देखाएको दिपायलको न्यू चाँद ट्रेडर्स एण्ड सप्लायर्सले पनि आफुबाट सामान अर्डर गरेको तर हालसम्म पनि नउठाएको जनाएको थियो।
सो फर्मबाट दुईसयवटा त्रिपाल, १० रोल पी–फम, दुईसयवटा कम्बल, दुईसयवटा डसनाको बील पेश भएको छ। जसको कुल रकम भ्याटबाहेक छ लाख ५४ हजार नौसय ९० थियो। जसमा ८५ हजार ८३ भ्याट थप भएर सात लाख ३९ हजार पाँचसय ७३ रकम थियो। यस्तै सामाग्री खरिद गर्न आएका बेला सिलगढी बसेको भनेर होटलबासमा होटल लर्डबुद्धको २० हजार ४० को बिल पेश गरिएको थियो। जहाँ एसी–एट्याच कोठामा चारदिन बस्दा दिनको तीनहजारका दरले १२ हजार उल्लेखछ। यस्तै चिकेन खानाको प्रतिखाना पाँचसय उल्लेख थियो।
तर होटल लर्ड बुद्ध नामको होटल हाल सिलगढीमा सञ्चालनमा छैन्। यस्तै गाडी आतेजाते भनेर चारपटकको प्रतिपटक (प्रतिदिन) २० हजारका दरले ८० हजारको भर्पाई पेश गरिएको थियो। तर, बोलेरो जीपहरु दैनिक ईन्धन हालेर चारहजारमै सेवा दिईरहेको व्यवसायीहरुले बताएका थिए।
कार्यक्रम कार्यान्वयनका लागि असार २३ ‘अथिति अनुगमन’ गराएका कागजात पेश गरिएका छन्। जसमा उल्लेख गरिएका व्यक्तीहरु नै आफ्ना दस्तखतहरु नक्कली रहेको बताउछन्। ‘अनुगमन गरेको भनेर मेरो नाम उल्लेख गरिएको रहेछ। त्यो दस्तखत मेरो होईन्,’ गाउँपालिकाका कम्प्युटर अपरेटर लक्ष्मणबहादुर खड्काले भनेका थिए, ‘त्यो कार्यक्रमबारे मलाई कुनै थाहा छैन्।’
गाउँपालिकाले फर्जी कागजकैलाई सदर गर्दै पुरै रकम भुक्तानी दिएको थियो। गाउँपालिकाले फर्जी कागजातसहितको प्रतिबेदनलाई सदर गर्दै आर्थिक वर्षको अन्तिम दिन असार ३१ गते उपभोक्ता समितिको अध्यक्ष भनिएका साजेन्द्रलाई करकट्टी गरेर नौ लाख ७९ हजार तीनसय रकम भुक्तानी दिएको थियो।