सुदूर नेपाललाई विश्वसँग जोड्दै

तेक्वान्दोमा नेपाललाई चार स्वर्ण

२०७७ साउन ८, ०६:४९ रासस

काठमाडौँ: अन्तराष्ट्रिय खुलामैत्री तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) को आयोजनामा भएको लकडाउन कोभिड–१९ अनलाइन भिडियो पुम्से च्याम्पियनसिपअन्तर्गत ब्लयाकबेल्टमा नेपालले चार स्वर्ण, तीन रजत र १४ कास्यपदक जितेको छ।

नेपालका लागि कमल श्रेष्ठ, पार्वती गुरुङ, निकुन गुरुङ र सरगम थापाले स्वर्ण पदक जितेका हुन। तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) मा सहभागी पाँच खेलाडीमध्ये कमल र पार्वतीले नेपाललाई स्वर्ण पदक दिलाएका हुन्। पुरुष ३० वर्ष उमेर समूहको विधामा कमल पहिलो बने। जसमा नेपालकै हस्तबहादुर तामाङले रजत तथा जीतबहादुर बोट र प्रेमबहादुर लिम्सोले कास्यपदक हात पारे। जीत र प्रेम १३ औँ सागका कास्य विजेता हुन्।

महिला ३० वर्षको विधातर्फ पार्वती पहिलो भइन्। सो विधामा नेपालकी सञ्जिला तिमल्सिनाले कास्यपदक जितिन्। यसैगरी सात वर्ष मुनिको इभेन्टमा नेपालका निकुन गुरुङले स्वर्ण जिते। सो विधामा निकुन प्रतिद्वन्द्वीबिहीन थिए। एब्सोलुट तेक्वान्दो डोजाङका निकुनले ४.७ स्कोर जोडे।

महिला नौ वर्षमुनि विधामा सरगम च्याम्पियन बनिन्। पुरुष नौ वर्षमुनि प्रज्ञान तामाङले रजत र करुण खाँद तथा आर्यन्सनजङ राणाले कास्य पदक हात पारे। एघार वर्षमुनिको विधाअन्तर्गत पुरुषमा नेपालका हर्कबहादुर गुरुङ र महिलामा इसिका रानाले कास्य पदक प्राप्त गरे। महिला १४ वर्षमुनिको विधातर्फ सन्ध्या लामाले तेस्रो स्थान हासिल गरिन्। १७ वर्षमुनि पुरुषमा दीपेश गुरुङ र महिलामा मोनिका रम्तेलले कास्यपदक पाए।

त्यस्तै ४० वर्षको उमेर समूहमा पुरुषतर्फ सुरज श्रेष्ठ र महिलामा रेशमाया गुरुङले कास्यपदक हात पारे भने ५० वर्षको विधामा मधुसुदन सापकोटा र पर्शुनाराण बोहरा कास्यमा सीमित भए । ६० वर्ष उमेरसमूहमा फणिन्द्र खड्काले रजत हासिल गरे।

डेइडो, युएसए, एभरेष्ट तेक्वान्दो सङ्घ र युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन (युयुएनटिएफ) को सहयोगमा भइरहेको प्रतियोगतामा पठाइएको श्रब्यदृष्यलाई विश्व तेक्वान्दो महासङ्घबाट मान्यता प्राप्त निर्णायक प्यानलले मूल्याङ्कन गरी नतिजा सार्वजनिक गरिएको हो। नेपालबाट अशोक खड्काले निर्णायकको भूमिका निर्वाह गरेका थिए।

आइओएफटिसीको मुख्य प्रतियोगिता अन्तरराष्ट्रिय खुलामैत्री तेक्वान्दो च्याम्पियनसिप कोरोनाले स्थगित भएपछि खेलाडीको मनोबल कायम राख्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आइओएफटिसीका संस्थापक एवं प्रतियोगिता निर्देशक दिवाकर महर्जनले जनाएका छन। तेह्रौँ संस्करण उक्त प्रतियोगिता अमेरिकाको मिचिगनमा यसै वर्षको मे १ र २ तारिखमा हुने तालिका थियो।  

कमेन्ट लोड गर्नुस