५३ कृषकलाई कुटी काट्ने मेसिन
झापाको अर्जुनधारा नगरपालिकाले कृषकलाई कुटी काट्ने यन्त्र प्रदान गरेको छ। नगरपालिकाको पशुपक्षी, मत्स्य तथा कछुवा विकास शाखाले मङ्गलबार कृषकसँगको साझेदारी अनुदान कार्यक्रमअन्तर्गत ५३ कृषकलाई कुटी काट्ने मेसिन प्रदान गरेको हो।
नगरप्रमुख हरिकुमार राना र उपप्रमुख कमला खतिवडाले कृषकलाई उक्त मेसिन हस्तान्तरण गरे। नगरपालिकाले कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले मेसिन प्रदान गरिएको नगरप्रमुख रानाले बताए। “कृषिमा आधुनिकीकरण र कृषकको दैनिकीमा सहजता ल्याउन मेसिन प्रदान गरिएको हो”, उनले भने।
नगरपालिकाको लागत साझेदारीमा १४ कृषकलाई ‘मिल्क क्यान’ पनि प्रदान गरिएको छ। त्यस्तै नगर क्षेत्रका अतिविपन्न २० कृषकलाई नगरपालिकाले निःशुल्क कुटी काट्ने मेसिन प्रदान गरेको पशुपक्षी, मत्स्य तथा कछुवा विकास शाखाका प्रमुख पदम राईले बताए।