कहाँ छन् धनगढीबाट पक्राउ गरिएका विप्लवका विद्यार्थी नेता ? क्रान्तिकारी भन्छ– वेपत्ता पारियो
धनगढीः सोमबार जिल्ला अदालत कैलालीबाट रिहा भएका नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट अखिल क्रान्तिकारीका तीन जना विद्यार्थी नेतालाई प्रहरी पुनः पक्राउ गर्यो।
क्रान्तिकारीका विद्यार्थी नेता बबरजंग सिह, सुवास जोशी र प्रकाश रावललाई प्रहरीले अदालतबाट छुट्ने बितिकै पक्राउ गरेको थियो।
जिल्ला अदालत कैलालीबाट साधारण तारेखमा छुटेपछि पक्राउ परेका उनीहरुलाई कहाँ राखिएको छ ? कैलाली प्रहरीले पक्राउ परेका विद्यार्थी नेताहरुका विषयमा जानकारी नभएको बताईरहेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले अदालत बाहिरबाट पक्राउ परेका उनीहरु कहाँ छन् भन्ने बारेमा थाहा नभएको बताए।
तर कैलाली प्रहरीको नियन्त्रणमा भने उनीहरु नरहेको प्रहरी नायब उपरिक्षक विष्ट बताउँछन्। धनगढीबाट पक्राउ गरिएका उनीहरुलाई कञ्चनपुरतर्फ लगिएको आशंका गरिएको छ तर कञ्चनपुर प्रहरीले पनि आधिकारिक रुपमा उनीहरु आफ्नो हिरासतमा भएको कुरा बताएको छैन्।
यद्यपी सोमबार साँझ महेन्द्रनगर बजार क्षेत्रबाट तीनजना विप्लव निकटका नेतालाई पक्राउ गरिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाक्षेत्रीले पक्राउ परेका नेताहरुका विषयमा बुझिरहेको बताए। तर उनीहरुको नाम खुलाईएको छैन्।
आफ्ना नेतालाई वेपत्ता पारेको क्रान्तिकारीको आरोप
यता विप्लव निकट अखिल क्रान्तिकारीले भने प्रहरीले आफ्ना नेताहरुलाई वेपत्ता पारेको आरोप लगाएको छ।
अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रकाश जप्रेलले झुठ्ठा मुद्दा लगाएर आफ्ना नेताहरुलाई फसाउँदै आएको प्रहरीले कैलाली जिल्ला अदालतबाट रिहा भएका नेताहरुलाई प्रहरीले वेपत्ता पारेको आरोप लगाए।
‘२५ दिन झुठ्ठा मुद्दा लगाएर प्रहरीले हाम्रा विद्यार्थी नेतालाई थुन्यो, अदालतले निर्दोष ठहर गर्दै रिहा गरेपनि पुनः पक्राउ गरी वेपत्ता पारिएको छ।’
उनले भने, ‘कहाँ राखिएको छ? कुनै जानकारी छैन्। घरपरिवारलाई पनि थाहा छैन्। मानव विरोधी हर्कत राज्यले गरेको छ। यसप्रती हाम्रो संगठनको गम्भीर आपत्ती छ।’