डडेल्धुराकाे भागेश्वरमा देखियो सलहको ठुलो झुण्ड
धनगढी: डडेल्धुराको भागेश्वर गाउँपालिकामा कृषिबालीमा क्षति पु¥याइ अनिकाल निम्त्याउने सलह(डेजर्ट लोकस्ट) फट्याङग्राको झुण्ड देखापरेको छ। भागेश्वर गाउँपालिकाको वडा नम्बर ३ बोगटा, खालमा सलह देखिएको स्थानीयले बताएका छन्।
किसानहरुले ठुलै झुण्डमा सलह आएको बताएपछि गाउँपालिकाले आफुलाई त्यसबारे कुनै जानकारी नभएको बताएको छ। गाउँपालिकाको कृषि शाखाका प्राविधिक सहायक दान विष्टले गाउँपालिकाभित्र सलह प्रवेश गरेको जानकारी नभएको बताएका छन्।
सलह फट्याङग्रा एक वर्ग किलोमिटर क्षेत्रमा फैलिएर बस्ने र एउटा बथानमा झण्डै चारदेखि आठ करोड हुने विज्ञहरुले बताएका छन्। फट्याङग्राको एउटा बथानले एक दिनमा करिब ३५ हजार मानिसलाई दुई छाक पुग्ने खाद्यान्न खाइदिन्छन्।
यो फट्याङग्राले सम्पूर्ण कृषि वालीको बोटविरुवा, बाली, फुल, डाँट, डाँटको बोक्रासम्म खाइदिने क्षमताका भएकाले प्रवेश गरेको स्थानमा ठूलो भोकमरी र अनिकाल पर्ने गरेको बताइएको छ।