सुदूर नेपाललाई विश्वसँग जोड्दै

गेटा मेडिकल कलेजको निर्माण तिव्र, मंसिर भित्रै सम्पन्न गर्ने लक्ष्य

२०७७ असार २९, ०७:४० रोशन भट्ट

गेटा : कैलालीमा निर्माणाधिन गेटा मेडिकल कलेजको निर्माणलाई तिव्रता दिईएको छ। आर्थिक वर्ष २०७७/७८ भित्र एक सय ५० शैयाको अस्पताल संञ्चालन गर्ने लक्ष्य सहित भौतिक संरचना निर्माणको कामलाई गति दिईएको हो। अहिले गेटा मेडिकल कलेजको ६९ प्रतिशत काम सम्पन्न भएको छ।

सात वटा प्याकेजमा निर्माण भईरहेको मेडिकल कलेजका दुई प्याकेजको निर्माण काम लगभग अन्तिम चरणमा पुगेका बेला ६९ प्रतिशत प्रगती भएको हो।

बाकी पाँच प्याकेजको निर्माण अगामी मंसिरमा सम्पन्न गर्ने गरी कामलाई तिव्रता दिईएको गेटा मेडिकल कलेज पुर्वाधार विकास समितका कार्यकारी निर्देशक भीमबहादुर साउदले बताए।

‘कलेजको प्रशासनिक तथा कलेज भवनको निर्माण अन्तिम चरणमा पुगेको छ’ उनले भने, ‘थप कलेज, अस्पताल, छात्रवास लगायतका अन्य भवनको निर्माण आगामी मंसिरमा सम्पन्न गर्ने गरी काम भईरहेको छ।’

कोरोना भाईरसको महामारीमा समेत मेडिकल कलेज निर्माणको कामलाई निरन्तरता दिईएको थियो। तर कामदार र निर्माण समाग्रीको अभावका कारण केही ढिलाई भएको बताईएको छ। विगतमा तीन हजार भन्दा बढी मजदुरले दैनिक काम गर्दै आएका थिए भने कोरोना प्रभाव पछि दैनिक तीन देखि चार सय मजदुरले काम गर्दै आएका छन्।

मंसिरमा संरचना निर्माणको काम सम्पन्न भए आउँदो चैत्रदेखि एक सय ५० शैयाको अस्पताल संञ्चालन गर्ने तयारी पनि गरिएको छ। भौतिक संरचना निर्माण कार्यविधीे अनुसार नै आर्थीक वर्ष २०७७/७८ भित्रै अस्पताल संञ्चालनमा ल्याउनुपर्ने भएका कारण चैतबाट सुरु गर्ने तयारी भईरहेको मेडिकल कलेज पुर्वाधार विकास समितले जनाएको छ।

मेडिकल कलेजको प्रारुप बारे टुङ्गो लाग्न बाँकी

अहिले गेटा मेडिकल कलेज शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालय अन्तरगत निर्माण भईरहेको भएपनि कुन प्रारुपमा संञ्चालन गर्ने भन्ने विषयको टुङ्गो अझै लाग्न सकेको छैन्। मेडिकल कलेजकै रुपमा संञ्चालन गर्ने की स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा संञ्चालन गर्ने विषयको टुङ्गो नलागेको हो।

संञ्चालनको प्रक्रिया सम्बन्धमा संघीय मन्त्री परिषद्मा प्रस्ताव पेश गरिएको भएपनि प्रारुपको विषयमा निर्णय हुन नसकेको गेटा मेडिकल कलेज पुर्वाधार विकास समितका कार्यकारी निर्देशक भीमबहादुर साउदले बताए।

‘कुन प्रारुपमा संचालन गर्ने? त्यो प्रस्ताव मन्त्री परिषद्मा पेश भएको छ’ उनले भने, ‘ तर अहिले सम्म निर्णय हुन सकेको छैन्।’ सुदूरपश्चिमको हितका लागि गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनुपर्ने धारण धेरैको छ।

थप संरचना निर्माणको तयारी

अहिले निर्माणाधीन भौतिक संरचनाको काम मंसिरमा सक्नुपर्ने भएपनि फेरी थप संरचना निर्माण गर्ने तयारी भईरहेको छ। मेडिकल कलेज पुर्वाधार विकास समितका अनुसार आउँदो साउनमा थप संरचना निर्माणका लागि कम्तीमा तीन प्याकेजमा काम सुरु गरिनेछ।

अब निर्माण सुरु हुने संरचनाको लागि पहिलो चरणको डिजाईनको काम समेत सम्पन्न भएको छ। जसमा कलेज भवन, खानेपानी विस्तार, फर्निचर, कम्पाउण्ड वाल लगायतका अन्य थप संरचना निर्माण गरिने भएको छ।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस