सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा जनप्रतिनिधि र सांसदको निर्देशनमा वनको स्वीकृती बिना रुख कटानी

२०७७ असार २८, ११:५७ खबर संवाददाता

धनगढी : कैलालीमा वनको स्वीकृती बिना सडक क्षेत्रमा पर्ने रुख काटिएका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर १ को कुन्तीखेतमा निर्माणाधिन बहुमुखी क्याम्पस–व्यवस्थितनगर सडक खण्डमा पर्ने १० वटा सालका रुख काटिएका हुन्।

लम्कीचुहा नगरपालिकाका जनप्रतिनिधि र संघिय सांसद झपट रावलको निर्देशनमा वनको स्वीकृती नलिएरै सडक क्षेत्रमा पर्ने रुख काटिएको स्थानीयले आरोप लगाएका छन्।

स्थानीय बालकल्याण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गिता गड्तौला थापासहितका व्यक्तिले सडक कालोपत्रे गर्न जनप्रतिनिधि र सांसदको निर्देशनमा रुख काटिएको छ।

अध्यक्ष थापा सहितका व्यक्तिले विद्यालयको हाताभित्र रहेका दुई सहित सडक क्षेत्रका १० सालका रुख काटिएको थाहा पाएपछि सव डिभिजन वन कार्यालयले कार्यालय सहयोगी भोलाप्रसाद बोहरालाई पक्राउ गरेको थियो। बोहरालाई जनप्रतिनिधि र सांसदकै दबाबका कारण छाडिएको डिभिजन वन कार्यालय स्रोतले दिनेश खबरलाई बतायो।

सव डिभिजन वन कार्यालय लम्कीका प्रमुख सोमलाल घलानले भने रुख कटानीमा संलग्न रहेको आशंकामा पक्राउ गरिएका बोहरालाई जनप्रतिनिधिको रहोबरमा हाजिरी जमानीमा छाडिएको स्वीकार गरेका छन्।

उनले सडक क्षेत्रमा पर्ने १० वटा रुख समेत काटेर विद्यालयमा घाट गद्दी बनाएर राखेको आठ सय क्युफिट काठ समेत बरामद गरिएको जानकारी दिए। तर रुख कटानका लागि वन कार्यालयले स्वीकृती भने दिएको छैन्। लम्की बहुमुखी क्याम्पस–व्यवस्थित नगर सडक प्रतिनिधिसभाका सांसद झपट रावलको निर्देशनमा कालोपत्रे भईरहेको छ।

सांसद रावलकै संरक्षणमा वनको स्वीकृती बिना रुख काटिएको आरोप लागेपनि उनले उक्त कुरामा सत्यता नभएको जिकिर गरेका छन्। रावलले स्थानीयले सडक क्षेत्रमा पर्ने रुख काटिएको विषयमा शनिबार मात्र जानकारी पाएको भन्दै आफूले कुनै खालको निर्देशन नदिएको बताए।

उनले कानून हातमा लिने कुरामा आफ्नो सहमती हुन नसक्ने भएपनि उक्त सडकको हकमा स्थानीय जनताले नै निर्णय गरेर रुख काटेको सुनेको जनाए।

यद्यपी उक्त निर्णय कानून सँगत भए/नभएको कुरा अध्ययनको विषय हुने उनी बताउँछन्। तर वातावरण संरक्षण ऐनले वनको स्वीकृती बिना कुनै पनि निकायले रुख कटानी गर्न नपाउँने व्यवस्था गरेको छ। 
 

कमेन्ट लोड गर्नुस