सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङका पहिरो पीडितलाई ह्युमानिटी फाउण्डेसनद्वारा राहत वितरण

२०७७ असार २७, ०६:५१ खबर संवाददाता

बझाङ: ह्युमानिटी फाउण्डेसन नेपालले बझाङको केदारस्यु गाउँपालिका – ८ मल्लेसीका पहिरो पीडित परिवारलाई राहत सामग्री वितरण गरेको छ। पहिरोबाट विस्थापित भएका २२ परिवारलाई ह्युमानिटी फाउण्डेसनले एक महिनाका लागि खाद्यान्न लगायतका राहत सामग्री वितरण गरेको हो।

शनिबार ह्युमानिटी फाउण्डेसन नेपालका प्रतिनिधि तथा पत्रकार बसन्त प्रताप सिंहले वडा नम्बर ८ का अध्यक्ष गणेश बोहरामार्फत पहिरो पीडितलाई राहत सामग्री वितरण गरेका हुन्।

फाउण्डेसनले प्रति परिवार एक क्विन्टलका दरले २२ परिवारलाई २२ क्विन्टल चामल, प्रति परिवार पाँच किलोका एक क्विन्टल १० किलो मिक्स दाल, प्रति परिवार तीन लिटरका दरले ६६ लिटर खाने तेल, प्रति परिवार तीन किलो दरले ६६ किलो नुन, प्रति परिवार पाँच जनालाइ एकरएक ब्रसका दरले एक सय १० ब्रस, प्रति परिवार एक कोलगेटका दरले २२ वटा ठुलोवाला कोलगेट, एक सय १० वटा नुहाउने साबुन र एक सय १० वटा कपडा धुने साबुन वितरण गरेको हो।

असार १९ गते राति गाउँपालिका वडा नम्वर ८ मल्लेसीमा गएको पहिरोले ६ जनाको ज्यान लिएको थियो भने १९ परिवारका २० घर बगेका थिए। एक जना अझै बेपत्ता छन्।

कमेन्ट लोड गर्नुस