सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा वडाअध्यक्षको मनोमानीका कारण ७० घरधुरी खोलाको पानी खान बाध्य

२०७७ असार २७, ०२:४३ आशिष मल्ल

धनगढी: बैतडीको सिगास गाउँपालिका वडा नम्बर ४ नेटाका ७० घरधुरीले विगत २० वर्षदेखि सिगास ढुंगाड खानेपानी आयोजना स्किम नम्बर १ बाट पानी उपभोग गरिरहेका थिए। २०५५ सालमा निर्मित उक्त खानेपानी आयोजनाको मुहानको अलि तलपट्टी उनीहरुले इन्टेक निमार्ण गरी पाइनलाइनबाट पानी गाउँसम्म पुर्याएका थिए।  

तर आजभोली उनीहरुले उक्त मुहानबाट आएको एक थोपा पानी समेत पाएका छैनन्। कारण, नेटाबासीले उपभोग गर्दै आएको मुहानमै वडा नम्बर ५ खलीगडान वासीले इन्टेक निमार्ण गरी आफ्नो गाउँतर्फ पाइपलाइन सोझाएका छन्।

यत्तिमात्रै होइन खलीगडानमा रहेका केवल ५ घुरधुरीका लागि वडाले उक्त खानेपानी आयोजनाको डिपिआर समेत तयार पारिसकेको छ। ‘२०५५ सालदेखि त्यो मुहानको पानी प्रयोग गरिरहेका थियौं तर यसपाली वडा नम्बर ५ का अध्यक्ष रामसिँह धामीले हामीसँग कुनै सहकार्य नगरी मानोमानी ढंगले मुहानमै इन्टेक बनाएर पानी लग्नुभएको छ’ नेटाका स्थानीय घनश्याम धामी भन्छन्, ‘त्यसपछि पनी पटकपटक हामीले कुरा गर्न खोज्यौ तर कुनै पहल भएन।

आफुल प्रयोग गर्दै आएको खानेपानी अरुले लगिदिएपछि नेटाबासीले वडा तथा गाउँपालिकामा निवेदन समेत दिएका छन्। तर उनहरुको निवदेनमाथि हालसम्म कुनै कारवाही भएको छैन। ‘अहिले हामी खोला तथा वर्षातको पानी पिउन बाध्य छौ,’ धामी भन्छन, ‘यसपाली जिल्ला प्रशासन र खानेपानी डिभीजन कार्यालयमा निवेदन दिएका छाैं। त्यहाँबाट पनी समस्या नसुल्झीए मुद्धा हाल्ने तयारीमा छौं।’

तर वडा नम्बर ५ का अध्यक्ष रामसिँह धामीले उक्त कुरा झुटा भएको बताएका छन्। साविकको ढुंगाड गाविसले उक्त खानेपानी २०५१ सालबाट प्रयोग गर्दै आइरहेकोमा २०५७ सालमा लेटावासी त्यहाँबाट खानेपानी लगेको उनले बताए। ‘२०५१ सालमा आफ्नो ठाउँ आफै बनाउ भन्ने कार्यक्रम अन्तरगत ऐमाले सरकारको पालामा उक्त खानेपानी आयोजना निमार्ण भएको थियो। विवाद चाही थियो तर एकपटक खोलाले इन्टेक बगाएकाले नेटावासीले पानीको मुहानभन्दा अलि तलबाट पाइप हालेर खानेपानी  लगेका थिए’ उनले भने, ‘अहिलेपनी सल्लाह भएको हो। तर कसैले उचालेर ती स्थानीयले विरोध गरिरहेका छन्।’ 

यसबारेमा वडा नम्बर ४ का अध्यक्ष शेरसिँह साउदले एडीबीले बनाएको सिगास ढुंगाड खानेपानी आयोजना स्कीम नम्बर १ को मुहान वडा नम्बर ४ मै दर्ता रहेको बताएका छन्। ‘दुईवटै इन्टेक सँगसँगै बनेका हुन तर आजभोली वडा नम्बर ५ वासीले माथि इन्टेक बनाएर पाइप लगेकाले नेटावासीको पाइपमा पानी चढ्दैन भन्ने गुनासो आएको छ’ उनले भने, ‘अब स्थलगत अनुगमन गरेर समस्या सुझाउने प्रयासमा छौ।’

 

आशिष मल्ल, दिनेश खबरका डेस्क सम्पादक हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस