सुदूर नेपाललाई विश्वसँग जोड्दै

८ दिनसम्म भेटिएनन् बझाङ पहिरोमा हराएका युवक, प्रहरी टोली फर्कियो

२०७७ असार २६, ०८:०४ खबर संवाददाता

बझाङ : बझाङको केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसिमा गत शुक्रबार राति गएको पहिरोमा पुरिएका एकजना अझै वेपत्ता रहेका छन्। पहिरोमा पुरिएका ६ जनाको शव भेटिए पनि एकजना अझै नभेटिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरिक्षक गणेश बमले बताए।

उनका अनुसार अनुसार वेपत्ता २० वर्षीय गिरीजा जेठारा अझै वेपत्ता छन्। ‘वेपत्ताको सात दिनसम्म खोजी गरेका थियौँ,’ उनले भने, ‘हिजो मात्रै हाम्रो टोली त फर्किएको छ। तर पनि बेला–बेला खोजी जारी हुनेछ।’

‘घर माथिबाट पानी आउन थालेपछि पानी आउने बाटो बन्द गर्न गिरिजा र म सँगै गएका थियौं। गाउँ जान थालेको पानीलाई यताउता सोझ्याउने काम गरिरहेका थियौ’, स्थानीय राजेश जेठाराले भने ‘अचानक भुकम्प आएजस्तो भयो र हल्लिएर जमिन नै उठेपछि मैले नजिकैको एउटा बेरुको रुखतर्फ हाम फालेर त्यही रुखमा झुण्डिएर ज्यान बचाएँ तर गिरिजालाई भने पहिरोले कहाँ लग्यो पत्तै भएन।’

पहिरोमा परेर वेपत्ता भएका एकै परिवारका तीन सहित ६ जनाको शव शनिवार निकालिएको थियो। पहिरोमा पुरिएर ४३ वर्षीया रामतीदेवी जेठारा, १६ वर्षीया शान्तिकुमारी जेठारा, १३ वर्षीय बालक प्रयाग जेठारा, ७ बर्षीया बालिका अस्मिता जेठारा, १५ वर्षीया बालिका सन्तु जेठारा र ८१ वर्षीय दले जेठाराको मृत्यु भएको थियो। 

शुक्रबार राति अविरल वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले केदारस्युँ गाउँपालिका–८ को मल्लेसीका २० घर बगाएको थियो।
 

कमेन्ट लोड गर्नुस