सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको वडा नम्बर १७ लाई आँपगाउँ बनाइँदै

२०७७ असार २५, ०५:०१ खबर संवाददाता

धनगढी: धनगढी उप–महानगरपालिका वडा नम्बर १७ लाई आँप गाउँको पहिचान दिनका लागि अभियान थालिएको छ। 

उप–महानगरपालिकाले एक गाउँ एक उत्पादन भन्ने नीति लिए अनुरुप वडाको धुर्झन्ना, पथरी, डमौलियाका प्रत्येक घरमा अनिवार्य रुपमा दुईवटा बिरुवा लगाउन थालिएको हो।  त्यसका लागि उप–महानगरपालिकाले २ वटा आँपका बिरुवा निःशुल्क उपलब्ध गराउने छ भने घर धनीले थप दुईवटा बिरुवा लगाउनुपर्ने व्यवस्था गरिएको छ।

धनगढीका नगरप्रमुख नृपबहादुर वडले वडा नम्बर १७ अन्य वडाको तुलनामा पछाडी परेकाले विकास निर्माणका काममा प्राथमिकतामा पारिएको बताए। उनले उक्त वडा कृषीका साथै फलफुल खेतीका लागि सम्भाव्य ठाउँ भएकाले आँपको गाउँको रुपमा विकास गर्न थालिएको बताए। नगरप्रमुख वडले आफु निर्वाचित भएर आउने बित्तिकै भोट बराबर बोट, त्यसपछि धनगढीको जनसंख्या बराबर बोटको अभियान सुरु गरेको बताए। 

त्यस्तै वडा नम्बर १७ का अध्यक्ष माधवराज रानाले आँप गाउँ अभियान अन्तरगत २ हजार ९ सयको हाराहारीमा आँपको बिरुवा वडावासीमा उपलब्ध गराएको बताए। धनगढी उप–महानगरपालिका आरयूडिपीको सहयोग र विकासका लागि यूवा ऐक्यवद्धताको साझेदारीमा आँपको बिरुवा उपलब्ध गराएको संस्थाका अध्यक्ष बिनय लामाले बताए।

कमेन्ट लोड गर्नुस