सुदूर नेपाललाई विश्वसँग जोड्दै

सिँचाइ र कृषि सडकमा जोड

फाइल फोटो
फाइल फोटो
२०७७ असार २५, ०५:५२ रासस

सल्यानमा सिँचाई तथा कृषि सडकमा विशेष जोड दिएको छ। जिल्लाका १० वटै स्थानीय तहमा कृषिजन्य वस्तुको उत्पादन अभिवृद्धि गरी निर्यात गर्ने उद्देश्यले सिँचाई तथा कृषि सडकमा विशेष जोड दिएको हो। यसका लागि चालु आर्थिक वर्षमा रु ७ करोडभन्दा बढी खर्च भएको छ। कृषि विकास कार्यालय सल्यानका अनुसार जिल्लामा कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको रु ७ करोड ५ लाख खर्च भएको हो। 

जिल्लाका सवै स्थानीय तहमा २५ वटा साना तथा मझौला सिँचाई कुलो र २४ वटा कृषि सडक निर्माण गरिएको कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले बताए। “जिल्लाका विभिन्न स्थानीय तहमा निर्माण गरिएका सिँचाई कुलोमा रु ४ करोड १५ लाख र कृषि सडकमा रु २ करोड ९० लाख खर्च भएको छ”, उनले भने। जिल्लाका सवै वस्तीहरूलाई सडक सञ्जालसँग जोडेर उत्पादित कृषिजन्य उपजलाई बजारसम्म पु¥याउन सहज हुने भएकाले कृषि सडक विस्तारको काम गरिएको उनको भनाइ छ। 

कृषि विकास कार्यालयका अनुसार कालीमाटी गाउँपालिकामा चार, छत्रेश्वरी गाउँपालिकमा चार, त्रिवेणी गाउँपालिकामा दुई, बनगाड कुपिण्डे नगरपालिकामा दुई र दर्मा गाउँपालिकामा दुई वटा सिँचाई कुलो निर्माण भएको छ। त्यस्तै कुमाख गाउँपालिकामा दुई, सिद्ध कुमाखमा दुई, वागचौर नगरपालिकामा दुई, शारदा नगरपालिकामा तीन र कपुरकाट गाउँपालिकमा तीन वटा सिँचाई कुलो निर्माण गरिएको कृषि विकास कार्यालयले जनाएको छ। 

सिँचाई तथा सडक निर्माणमा कुल वजेटको १० प्रतिशत सम्बन्धित लाभग्राही क्षेत्रमा खर्च गर्नुपर्ने प्रावधान अनुसार स्थानीयवासीको मागका आधारमा बीउबिजन तथा कृषिजन्य औजार उपकरण खरिद गरेर वितरण गरिएको सो कार्यालयले जनाएको छ। जिल्लामा गत आर्थिक वर्षमा कृषि सडक निर्माणका लागि ३ करोड ४७ लाख ७८ हजार खर्च भएको थियो। 
 

कमेन्ट लोड गर्नुस