सुदूर नेपाललाई विश्वसँग जोड्दै

हुम्लाबाट फर्किएर बाजुरा अस्पतालमा अप्रेसन सेवा दिदै डा केसी

२०७७ असार २४, ०२:०९ प्रकाश सिंह

बाजुरा : असार १० गते निःशुल्क उपचार सेवा दिन बाजुराबाट हुम्ला पुगेका डाक्टर गोविन्द केसी एक हप्ता बसेर पुनः बाजुरा फर्किएका छन्। २ महिना डडेल्धुरा अस्पतालमा निःशुल्क सेवा दिएर सुदूरपहाडका जिल्ला घुमिरहेका डाक्टर केसी औषधि बाकेर हुम्लाका दुर्गममा रहेका स्वास्थ्य संस्थामा सेवा दिन पैदलै गएका थिए। 

त्यहाँबाट फर्किएर चिकित्सा क्षेत्र सुधारका अभियन्ता डाक्टर केसी एक हप्तादेखि जिल्ला अस्पताल बाजुरामा बिरामीको उपचार गरिरहेका छन्। उनले जिल्ला अस्पताल बाजुरामा जटिल खालको अप्रेसन सेवा समेत दिएको जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र बिश्वकर्माले वताएका छन्। केसीले नेपालगञ्जमा पाइने अप्रेसन सेवा बाजुरामै दिएका छन्। 

उनले बडिमालिका नगरपालिका –९ की ४८ वर्षीया बसन्ती गुरुङ्गको नसा सम्बन्धि जटिल खाले अप्रेसन बाजुरामै गरेका छन्। ‘अन्यन्त्र जान पैसा थिएन्, लामो समयदेखि समस्याले अल्झिरहेकी थिए। तर यसपाली जिल्लामै उपचा पाए’ उनले भनीन। 

डा केसीले साना अप्रेसन धेरै गरेको भएपनि जटिल खाले तीन वटा हात र नशाको अप्रेसन गरेको स्टाफनर्स धर्म रोकायाले बताइन। त्यसअघि कोल्टी पुगेका डा केसीले आइसोलेसनमा रहेका बिरामीको उपचार गरेका थिए। उनले उपचार मात्र नभई बिरामीलाई औषधि समेत निःशुल्क वितरण गर्ने गरेका छन्। डाक्टर केसीले यसअघि डडेल्धुराबाट गएपश्चात बझाङ, दार्चुला, बैतडी लगायतका जिल्लामा पुगेर सेवा दिइसकेका छन्।

बेलाबेलामा मेडीकल माफिया, नेपालको स्वास्थ्य क्षेत्रमा भएको दुराचार, अवैध तथा अनियमित व्यवस्थाको विरोध तथा मेडीकल कलेज खोल्न माग गर्दै आएका उनी १७औं पटक अनसन बस्न डडेल्धुरा पुगेका थिए।

गत कार्तिक १८ गते डडेल्धुरा पुगेर अनसन बसेका बेला उनले चिकित्सा शिक्षा ऐनमा संशोधन, अरबौंको ठगी गर्ने मेडिकल कलेजका सञ्चालकहरुलाई कारवाही र सुदूरपश्चिमको डोटी, डडेल्धुरामा मेडिकल कलेजको माग राखेको थिए। तर कालापानी, लिपुलेख र लिम्पियाधुरा सीमा विवादका कारण उनको सत्याग्रह कार्तिक २६ गते ९औं दिनमा स्थागित भएको थियो।

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस