सुदूर नेपाललाई विश्वसँग जोड्दै

लकडाउनमा कांग्रेस डडेल्धुराले खुवायो साढे ९ हजार नागरिकलाई निःशुल्क खाना

२०७७ असार २३, ०५:०० खबर संवाददाता

धनगढी: नेपाली कांग्रेस डडेल्धुराले ‘एनडी प्रकाश चटौत आपतकालीन भोजन चुलो’ नाम दिएर सञ्चालन गरिएको अभियान अन्तरगत ९ हजार ४८१ जनालाई खाना खुवाएको छ। लकडाउनको समयमा अलपत्र परेका नागरिकलाई कांग्रेस डडेल्धुराल निःशुल्क खाना खुवाएको हो। 

‘मानवता बचौँ’ भन्ने नाराका साथ कांग्रेसले बैशाख २७ गतेदेखि उक्त अभियान थालिएको थियो। मंगलबार कांग्रेसले पत्रकार सम्मेलनको आयोजना गरी हाललाई उक्त अभियान स्थगित गरेको जनाएको छ।

लकडाउन खुकुलो हुनु, खाना खाने व्यक्ति न्युन, पार्टीको अधिवेशनलगायतका कारणले तत्काललाई अभियान मंगलबारदेखि स्थगित गरिएको पार्टीका कार्यवाहक सभापति करुणाकर भट्टले जानकारी दिए।

खाना नपाएर कुनै पनि नागरिक भोकले छट्पटाउन नपरोस् भनेर आपतकालीन भोजन चुलोको व्यवस्था गरेको थियो। करिब २ महिनाको अवधिमा यहाँका विभिन्न कारेन्टाइनमा पुगेर खाना खुवाएको थियो।

लकडाउनको अवधिमा अतिआवश्यक कामको लागि डडेल्धुरा सदरमुकाम आएका आफन्त नभएका तथा क्वारेन्टाइनमा बसेका नागरिकलाई भोजन चुलो संचालनमा आएपछि राहत मिलेको कांग्रेसले जनाएको छ।

एनडी प्रकाश चटौत आपतकालीन भोजन चुलो अभियानलाई सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई कार्यवाहक सभापति भट्टले धन्यवाद दिए। सेवा दलका संयोजक टंकप्रसाद क्षेत्रीका अनुसार ३७ क्विन्टल ६५ किलो चामल, १४३ किलो दाल, ४० किलो नुन र ९२ लिटर तेल सहयोग प्राप्त भएको थियो।

जसमा १६ क्विन्टल चामल, २० लिटर तेल, २० किलो नुन र १० पेटी चाउचाउलगायतको खाद्यान्न सामग्री मौज्दात रहेको छ। मौज्दात रहेको खाद्यान्न आपतविपद्मा परेका नागरिकलाई सहयोग गरिने उनले बताए।

संयोजक क्षेत्रीका अनुसार उक्त अभियान संकलन गर्नको लागि २ लाख, ३८ हजार रुपैयाँ सहयोग प्राप्त भएको थियो। जसमा एक लाख ६५ हजार ९७० रुपैयाँ खर्च भएको छ भने ७२ हजार ३१ रुपैयाँ बाँकी रहेको छ।

कमेन्ट लोड गर्नुस