सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा अघि बढ्न सकेनन् प्रदेश गौरवका योजना

२०७७ असार २२, ०४:०४ रासस

विनोदसिंह विष्ट, बैतडी: बैतडीको सतबाँझ–श्रीभावर–हाट–दार्चुला सडक योजना अझै अगाडि बढ्न सकेको छैन। सुदूरपश्चिम प्रदेश सरकारको गौरवको योजनाका रुपमा रहेको सो योजना चालू आर्थिक वर्षमै निर्माण शुरु गर्ने गरेर बजेट विनियोजन भएको  थियो।  स्तरोन्नतिका लागि बल्ल निर्माण कम्पनीको छनोट भएको छ।

सतबाँझ श्रीभावर खण्डका पाँच किमी र श्रीभावर हाट खण्डमा आठ किमी कालोपत्र गर्न सम्झौता तयारी भएको पूर्वाधार विकास कार्यालय बैतडीका प्रमुख जगतप्रसाद जोशीले जानकारी दिए। ती दुवै प्याकेजमा चन्द्रा एण्ड वसन्ता जेभी ग्वाल्लेक निर्माण कम्पनी छनोट भइसकेको र केही दिनभित्रै सम्झौता भएर काम अघि बढ्ने छ उनले भने– ‘तीन वर्षभित्र कामसक्ने लक्ष्यसहित निर्माण कम्पनीसँग सम्झौता हुन लागेको हो।’ 

सतबाँझदेखि श्रीभावर खण्डमा १० करोडमा श्रीभावरदेखि हाट खण्डमा १४ करोडमा ठेक्का सम्झौता हुन लागेको हो। गत माघदेखि सो सडक कालोपत्र गर्नका लागि प्रक्रिया शुरु भए पनि लकडाउन र अन्य कारणले काममा ढिलाइ भएको उनले बताए। उनले भने– ‘ठेक्का सम्झौता भएपछि यस महिनाको अन्तिमबाट काम शुरु हुन्छ।’ 

तत्कालीन जिल्ला विकास समितिले २०५५ सालमा ट्र्याक ओपन गरेको सो सडक दुई दशकपछि प्रदेश सरकारको गौरवको योजनामा परेको छ। अब सडक निर्माणले तीव्रता पाउने जिल्ला विकास समितिका पूर्वसभापति परमानन्द भट्टले जानकारी दिए। सो सडक जिल्लाको सामरिक महत्वको रहेको उनको भनाइ छ। जिल्लाका तीन स्थानीय तह एकआपसमा सडक सञ्जालमा जोडिने छन् भने दार्चुलासँग पनि जोडिनेछ। अहिले सतबाँझदेखि सुर्नया गाउँपालिका वडा नं ६ सम्म यातायात सञ्चालनमा रहेको छ। यसैगरी श्रीभावरदेखि हाटसम्म पनि यातायात सञ्चालनमा छ।

यस्तै पूर्वाधार विकास कार्यालयमार्फत दार्चुलामा पनि प्रदेश गौरवको योजनाका रुपमा रहेको खलङ्गा–खार–पारीबगर—खण्डेश्वरी सडक निर्माण भइरहेको छ। सो सडकमा  अहिले १८ किमी कालोपत्र गर्नका लागि ठेक्का सम्झौता भइसकेको छ । खलङ्गादेखि खार खण्डमा नौ किमी पारीबगरदेखि खण्डेश्वरी खण्डमा नौ किमी कालोपत्रका लागि ठेक्का सम्झौता भएर काम अघि बढ्ने तयारी रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख जोशीले भने, ‘यो सडकमा पनि ढिलोगरी नै काम शुरु भएको छ। गत माघदेखि मात्रै प्रदेशका गौरवका योजनामा प्रक्रियाको काम शुरु भएको हो।’  

बैतडीको तल्लोसोराड जोड्ने मुख्य सडकका रुपमा रहेको पाटन–पञ्चेश्वर सडकमा कालोपत्र गर्न रोकिएको छ। लकडाउनका कारण स्याडीगाडदेखि लामालेकसम्मको कालोपत्र गर्न रोकिएको निर्माण कम्पनीले जनाएको छ।

पाटन–पञ्चेश्वर सडक कालोपत्र गरिरहेको सिएबी जेभी ग्वाल्लेकका प्रबन्ध निर्देशक सुरेश चन्दले कालोपत्र गर्ने समयमा लकडाउन भएका कारण कालोपत्रको काम अघि बढ्न नसकेको जानकारी दिए। चैतदेखि जेठ महिनासम्म कालोपत्रका लागि उपयुक्त समय भए पनि सो समयमा लकडाउनका कारण काम गर्न नपाएको हो। उनले भने– ‘लकडाउनकै कारण सडकमा काम गरिरहेका कामदारलाई फिर्ता पठाउनु प¥यो ।’  

यस वर्ष २० किमी सडक कालोपत्र गर्ने लक्ष्य रहेको भए पनि  काम अब एक वर्षपछि धकेलिएको छ। पाटन पञ्चेश्वर सडकलाई स्तरोन्नति गर्ने कार्यअन्तर्गत मेलौलीदेखि कुलाउसम्म पनि कालोपत्र गर्नका लागि टेण्डर आह्वान हुने तयारी भएको  कार्यालयका प्रमुख जोशीले बताए। लकडाउनका कारण केही ढिलो भए पनि सो कार्य अघि बढ्ने जनाइएको छ।

कमेन्ट लोड गर्नुस