सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको टीकापुरका किसान जडिबुटी खेतीबाट मनग्य आम्दानी गर्दै

२०७७ असार २२, ०८:५८ रोशन भट्ट

धनगढी : कैलालीेको टीकापुर क्षेत्रमा बहुउपयोगी जडीबुटी मेन्था र मेथीक्रिया खेतीतर्फ किसानहरुको आकर्षण बढ्दै गएको छ। जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी टीकापुरले स्थानीय किसानलाई विउ उपलब्ध गराउनका साथै बजारमा समेत सहयोग गरेपछि जडिबुटी खेतीतर्फ किसानहरुको आकर्षण बढेको हो।

हिउँदे खेतीपछि बाँझो रहेको जमिनमा मेन्था र मेथीक्रिया खेती गरी किसानहरुले मनग्य आम्दानी गर्न थालेका छन्। टीकापुरका किसान राधेश्याम चौधरीले मेन्था र केमोमाईल खेतीबाट मनग्य आम्दानी हुने गरेको सुनाए।

उनले एक कठ्ठा जमिनमा तीनदेखि पाँच लिटरसम्म मेन्थाको तेल उत्पादन हुदै आएको र मेन्थाबाट प्रशोधित तेल प्रति लिटर एक हजार भन्दा बढीमा विक्रि हुने गरेकाले राम्रो आम्दानी गर्न सकिने बताए।

यस्तै मेथीक्रिया अर्थात केमोमाइल प्रतिकिलो १९ हजारमा विक्रि हुने गरेको छ। अहिले कैलालीको टीकापुर क्षेत्रमा जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीले किसान सहुलियत मूल्यमा विउ उपलब्ध गराउँने, प्राविधिक विषयमा जानकारी गराउँने, उत्पादित जडिबुटीलाई आफै खरिद गर्ने लगायतका सहयोगहरु गरिरहेको छ।

मेन्थाबाट सञ्चो, हिमालयन मसाज तेल, पाउडर, साबुन उत्पादन गर्न सकिन्छ। केमोमाइलबाट प्रशोधित तेल भने विदेशमा पनि खपत हुने गरेको छ भने मेन्था र केमोमाईलबाट उत्पादित तेल दर्जनौँ औषधी तथा चकलेटमा समेत प्रयोग हुन्छ। जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी टीकापुरका प्रमुख कमल वेल्वासेलेले किसानहरुलाई मेन्था र केमोमाईलको बिउ निःशुल्क वितरण गर्दै आएको बताए।

उनले प्राविधिक सल्लाह समेत निःशुल्क दिदै आएको वेल्वासे बताउँछन्।  यस वर्ष टीकापुर एक सय ४६ किसानले उक्त खेती गरेका थिए। केमोमाइल ५० किलो मात्र उत्पादन भएको छ। यस वर्ष टीकापुरमा ६० विघामा मेन्था र ५५ विघामा केमोमाइल खेती गरिएको थियो।

अघिल्लो वर्ष ३५ विघामा केमोमाइल र ४० विघामा मेन्था खेती गरिएको कम्पनीले जनाएको छ। ग्त बर्षको तुलनामा केमोमाइल उत्पादनमा ५० प्रतिशतले कमी आएको छ। मेन्था भने दुई टन अर्थात दुई हजार किलो उत्पादन भएको छ।

किसानले मेन्था प्रशोधन गरिसकेका छन्। तर यस वर्ष भने कोरोना प्रभावका कारण जारी लकडाउन समेत उत्पादनमा केही कमी आएको छ। स्थानीय र प्रदेश समेत सहयोग गरे जडिबुटी खेतीलाई विस्तार र उत्पादन बृद्धि गर्न सकिने देखिएको छ।

जडिबुटी खेती अन्नबाली भन्दा सजिलो र नगदेबाली भएकोले किसानको आकर्षण बढेको छ। सिँचाइको सुविधा भएमा कम लागतमा बढी आम्दानी गर्न सकिने देखिएको छ। जसका लागि तीन तहका सरकारले सहयोग गर्न आवश्यक छ।  
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस