सुदूर नेपाललाई विश्वसँग जोड्दै

दिनेश खबरकर्मीमाथि हातपात गर्ने बावु छोरा पक्राउ

२०७७ असार २१, ०९:१६ खबर संवाददाता

धनगढी : दिनेश खबरकर्मीमाथि हातपात गर्ने धनगढीका दुईजना पक्राउ परेका छन्। दिनेश सञ्चार गृहले सञ्चालन गरेको दिनेश खबर÷दिनेश एफएमका वरिष्ठ संवाददाता कमल सावदमाथि दुर्व्यवहार गरी हातपात गर्ने धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का हर्कबहादुर देउवा र उनका छोरा ठक्करबहादुर देउवा पक्राउ परेका हुन्।

उनीहरु दुवैजनाले आज दिउँसो सुदूरपश्चिम भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा पत्रकार सावदमाथि दुव्र्यवहार गर्दै हातपात गरेका थिए। दुवैजना विरुद्ध पत्रकार सावदले दर्ता गरेको सार्वजनिक हित समेतको विरुद्ध कसुर गरेको मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले बताए।

यसअघि जिल्ला प्रहरी कार्यालयमा दिएको ठाडो निवेदनका आधारमा छलफलका लागि भन्दै आफै प्रहरी कार्यालयमा उपस्थित भएका बावु छोरालाई उजुरी दर्ता भएपछि प्रहरीले नियन्त्रणमा लिएको हो। कृषि मन्त्रालयबाट माछा पालनका लागि अनुदान लिएर पनि पोखरी निर्माण नगरेको विषयमा समाचार छापेर आफ्नोे बदनाम गरेको भन्दै बुवाछोराले पत्रकार सावदमाथि दुव्र्यवहार र हातपात गरेका थिए।

ठक्कर देउवा कैलाली फुटबल संघका सदस्य समेत हुन्। उनका बुवा हर्क बहादुर देउवाले धनगढी उप–महानगरपालिका वडा नम्व्र ५ मा कृषि मन्त्रालयबाट माछा पालन गर्ने भन्दै एक लाख ४२ हजार ६ सय आठ रुपैँया अनुदान पाएका थिए।

अनुदान पाएको एक बर्ष भएपनि अहिलेसम्म वडा नम्वर ५ मा माछापालन सुरु भएको छैन् भने पोखरी समेत निर्माण गरिएको छैन्। यसैबीच उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिनु अघि समाचार लेखेकै भरमा पत्रकारमाथि दुव्र्यवहार र हातपात गरी ज्यान मार्ने धम्की दिएको घटनाप्रती ध्यानाकर्षण भएको भन्दै पत्रकारहरुको टोली जिल्ला प्रहरी कार्यालयमा पुगेको थियो।

नेपाल पत्रकार महासंघका सुदूरपश्चिम अध्यक्ष अर्जुनबहादुर शाह, महासचिव योगेश रावल, पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य दिलबहादुर छत्याल, कैलाली जिल्ला शाखाका कोषाध्यक्ष  हिमाल जोशी, प्रेस युनियन कैलाली शाखाका अध्यक्ष श्रवण देउवा लगायतका पत्रकारको टोलीले दोषीलाई कानून अनुसार कारवाही हुनुपर्ने भन्दै कैलाली प्रहरीको ध्यानाकर्षण गराएका थिए।

कैलालीका प्रमुख प्रहरी उपरिक्षक अनुपम शमशेर जबराले घटनाको अनुसन्धान गरी दोषीलाई कानून अनुसार कारवाही गर्ने प्रतिबद्धता जनाएका छन्। 
 

कमेन्ट लोड गर्नुस