सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङ पहिरोमा हराएका एक जना अझै वेपत्ता, विस्थापितलाई राहत वितरण

२०७७ असार २१, ०७:१५ खबर संवाददाता

बझाङः बझाङको केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसिमा शुक्रबार राति गएको पहिरोमा पुरिएका एकजना अझै वेपत्ता रहेका छन्।

पहिरोमा पुरिएका ६ जनाको शव भेटिएपछि एकजना अझै नभेटिएको बझाङका प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताए। प्रजिअ भण्डारीका अनुसार वेपत्ता २० वर्षीय गिरी जेठाराको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गरिरहेको छ। पहिरोमा परेर वेपत्ता भएका एकै परिवारका तीन सहित ६ जनाको शव हिजो निकालिएको थियो।

वडा अध्यक्ष गणेशबहादुर बोहोराका अनुसार एकै घरका ४३ वर्षीया रामतीदेवी जेठारा, १६ वर्षीया शान्तिकुमारी जेठारा, १३ वर्षीय बालक प्रयाग जेठारा, ७ बालिका अस्मिता जेठारा, १५ वर्षीया बालिका सन्तु जेठारा ८१ वर्षीय दले जेठाराको शव भेटिएको हो। शुक्रबार राति अविरल वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले केदारस्युँ गाउँपालिका–८ को मल्लेसीका २० घर बगाएको थियो।

प्रजिअ भण्डारीले १८ घर पूर्ण रुपले क्षती गर्दा दुई घरमा आशिंक क्षती पुगेको बताए। पहिरोमा स्थानीयका २२ वटा भैँसी, ६५ वटा बाख्रा र २४ वटा गाइगोरु पनि हराएका छन्। ६५ घर परिवार बस्दै आएको बस्तीको बीच भागबाट पहिरो गएपछि गाउँ नै जोखिममा परेको छ।

स्थानीयले भोगचलन र अन्न उब्जाउ गर्दै आएको करिब आधा जमिन पहिरोले बगाएको स्थानीयले बताएका छन्। पहिरोले घरबारविहीन भएका व्यक्तिहरूले हिजो राति स्थानीय विद्यालयमा ओत लागे पनि अब कहाँ बस्ने भन्ने चिन्ता भएको बताएका छन्।  

यसैबिच पहिरोबाट विस्थापीत भएका परिवारलाई गृह मन्त्रालयसँगको समन्वयमा खाद्यान्न तथा लत्ताकपडा सहित राहत वितरण गरिएको छ। प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीका अनुसार संघ र प्रदेश सरकारले हेलिकोप्टर मार्फत पठाएको राहत सामाग्री शनिबार उनीहरुलाई वितरण गरिएको छ। 
 

कमेन्ट लोड गर्नुस